• 6:12 pm

एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस भएकोले नआत्तिन स्वास्थ्य मन्त्रालयको अनुरोध

प्रकाशित मिति

२०८१ पुष २५ गते, बिहीबार १२:५३

पुष २५, २०८१ काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) सामान्य रुघाखोकी गराउने साधारण भाइरस भएको जनाएको छ।

बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले यसबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका भ्रामक प्रचारप्रति ध्यानाकर्षण जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “जाडो महिनामा श्वासप्रश्वासजन्य संक्रमणको दर बढ्नु स्वाभाविक हो। मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, नेपालमा विगतमा पनि देखिएको यो भाइरसले सामान्य रुघाखोकी गराउँछ। यसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि नेपालले आवश्यक तयारी गरिसकेको छ।”

मन्त्रालयका अनुसार यस भाइरसले गम्भीर समस्या उत्पन्न गर्ने सम्भावना निकै कम छ। यसको संक्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्धवृद्धामा देखिन सक्ने भए पनि निगरानी र सजगता बढाइएको छ।

एचएमपिभी र अन्य संक्रामक रोगहरूको जोखिम कम गर्न मन्त्रालयले व्यक्तिगत सुरक्षा उपाय अपनाउन अनुरोध गरेको छ। मास्क लगाउने, भीडभाडमा नजाने, बिरामीसँग नजिक सम्पर्क नगर्ने, साबुनपानीले हात धुने, र स्वास्थ्य समस्या भएमा चिकित्सकको सल्लाह लिने सुझाव दिइएको छ। साथै, मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि आग्रह गरिएको छ।

प्रतिकृया