• 8:22 am

रविको बयान आज पनि नसकिने, भोलि पनि बयान जारी

प्रकाशित मिति

२०८१ मंसिर १६ गते, आईतवार ०३:५३

मंसिर १६, २०८१ काठमाडौँ: पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि नसकिने भएको छ । कामपा–१४ कालिमाटीमा सञ्चालित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा आरोपित लामिछानेसँग आज बिहानदेखि नै बयान लिइएको भएपनि सकिने सम्भावना नरहेको काठमाडौं सरकारी वकिल कार्यालयका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

सोध्नुपर्ने विषय धेरै हुँदा उनको बयान आज पनि नसकिने श्रेष्ठले बताए । स्वर्णलक्ष्मी सहकारी पीडितद्वारा दिइएको जाहेरीमा उल्लेखित आरोप र अनुसन्धानबाट खुल्न आएका तथ्यमाथि आधारित भएर उनको बयान लिइँदैछ । उनीसँग यसअघि शुक्रबार पनि बयान लिइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आज आइतबार पुनः बयान लिइएको हो । बयान लिनकै लागि उनलाई बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएको थियो । भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएका उनीसँग भोलि मंगलबार पनि बयान लिइने काठमाडौं सरकारी वकिल कार्यालयको तयारी छ ।

भोलि बयान सकिए भोलि नै उनलाई पोखरा पठाइने काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पनि जोडिएका रविका व्यापारिक साझेदार पूर्व डीआईजी छविलाल जोशीसँग सरकारी वकिल र अनुसन्धान अधिकृतहरूले बयान लिइसकेका छन् । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लागेका लामिछाने र छविलाल र कुमार रम्तेल सहित ५ जना थुनामा छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

प्रतिकृया