• ५ साउन २०८३, मंगलबार
  • ५:०० बेलुका

‘किशुनजी महात्मा गान्धी भन्दा उच्च कदका नेता’ —स्वामी आनन्द अरुण

प्रकाशित मिति

२०८१ असार १६ गते, आईतवार १०:५०

असार १६, २०८१ काठमाडौँ: पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक आन्दोलनका महानायक, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्म शताब्दी वर्षको पावन अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आज राजधानीमा विशेष प्रवचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा भट्टराईको जीवन र व्यक्तित्वमाथि उहाँका अत्यन्त निकट आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले विविध कोणबाट प्रकाश पार्नु भएको थियो । उहाँले २०४८ सालको आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईको पराजय नेपाल र नेपालीकै लागि ठूलो दुर्भाग्य भएको बताउनु भयो । भट्टराईको अस्वभाविक पराजयका कारण सिंगो मुलुक शोकाकूल भएको स्मरण पनि स्वामी आनन्द अरुणले गर्नुभयो । कृष्णप्रसाद भट्टराई जस्तो विश्वकै सम्मानित नेता निर्वाचनमा पटक पटक पराजित हुनु आश्चर्य भएको उहाँको टिप्पणी थियो ।

राजनीतिक स्पष्टता, निष्ठा, योगदान, आदर्श र समग्र चरित्रको आधारमा हेर्ने हो भने भट्टराई भारतका महात्मा गान्धी भन्दा पनि उच्च स्तरको नेता भएको टिप्पणी उहाँले गर्नुभयो । ‘भट्टराईको बहुआयामीक व्यक्तित्व सबैका लागि उदाहरणीय थियो’ उहाँले भन्नुभयो । हिंस्रक क्रान्तिको सधैं विपक्षमा उभिनु भएका भट्टराईले पाएको जस्तो सम्मान अन्य कमैले पाएको उहाँको विश्लेषण थियो । शक्तिको आडमा कोही कसैले राज्यकोष दोहोन गर्न नहुने पाठ भट्टराईबाट सिक्नुपर्ने दृष्टान्तहरू उहाँले सुनाउनुभयो ।

Kamana Sewa

स्वयं राजाले कांग्रेसबाट अलग गराउन नसकेको भट्टराईले पार्टीमा रहन नसक्ने गरी आफैले राजीनामा दिने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद भएको उहाँले बताउनुभयो । वार्ताबाटै माओवादी द्धन्द्ध अन्त्य गर्ने दिशामा केन्द्रीत रहनु भएका भट्टराईलाई पार्टीकै नेतृत्वले प्रधानमन्त्रीबाट राजीनामा गर्न लगाएर गैरराजनीतिक काम गरेको दाबी उहाँले गर्नुभयो । पदलोलुपताबाट भट्टराई सधै टाढा रहनु भएको चर्चा गर्दै उहाँले ‘निर्वाण’ नै उहाँको जीवनको एकमात्र लक्ष्य भएको बताउनुभयो । भट्टराईका महान् वाणीहरू प्रत्येक नेपालीका घर घरमा टासिनु पर्ने भन्दै उहाँले मुलुकलाई अहिलेको असहज परिस्थितिबाट निकास दिन अर्को ‘भट्टराई’ आवश्यक भएको बताउनुभयो ।

Classic Tech Desktop

चावहिल स्थित स्मार्ट प्यालेसको सभा हलमा भएको भव्य कार्यक्रममा केन्द्रका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता लोकेश ढकालले भट्टराई जस्ता आदर्श व्यक्तिको सानिध्य पाउनु आफ्नो लागि गर्वको विषय भएको बताउनुभयो । भट्टराई जस्ता अलौकिक नेताको आदर्शबाट विमूख भएकाले कांग्रेस र मुलुक दयनीय अवस्थामा पुगेको उहाँले बताउनुभयो । कार्यक्रममा राजनीति, कुटनीति, सञ्चार, मानवअधिकार, समाजसेवा लगायतका विविध क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।

प्रतिकृया