नेप्सेमा ६.२२ अंककाे सामान्य वृद्धि
प्रकाशित मिति
२०८१ जेष्ठ २२ गते, मंगलवार ०४:३६
जेठ २२, २०८१ काठमाडौँ: साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२९ प्रतिशत अर्थात ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार गोविन्दप्रसाद घिमिरे भन्छन्, ‘बजेटमा पूँजी बजारलाई प्रत्यक्ष प्रभाव पार्ने विषय नआउदा लगानीकर्ताको मनोबल बलियो बनिसकेको छैन । ९० प्रतिशत लगानीकर्ता अझै कारोबारी नै छन् । कारोबारी हाबी भएका कारण बजार खासै माथि जान सकेको छैन ।’ बजारले गति नै लिनका लागि भने मौद्रिक नीतिमा जोखिम भार घटाउनु पर्ने र क्याप हटाउनु पर्ने घिमिरे बताउँछन् ।
अर्का बजार जानकार नीमानन्द कंडेलको विचारमा बजारमा नयाँ पैसा नआउँदा बजारले गति लिन नसकेको हो । ‘अहिले लगानीकर्ताले एउटा कम्पनीको सेयर बेचेर अर्को खरिद गर्ने काम मात्रै गरिरहेका छन् । यद्यपी ४ अर्ब माथिको कारोबार हुनु सकारात्मक पक्ष हो ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छायो । आज व्यापार समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज २.७० प्रतिशतले बढ्यो भने बैंकिङ समूह ०.११, विकास बैंक ०.५७,वित्त ०.२९,होटल ०.१०,लगानी ०.७०,जीवन बीमा ०.४७,उत्पादन तथा प्रशोधन ०.८०,लघुवित्त १.४८ र निर्जीवन बीमा समूह ०.५६ प्रतिशतले बढे ।
आज हाईड्रो समूह ०.६१ प्रतिशत,म्युचुअल फण्ड ०.११ र अन्य समूह ०.२३ प्रतिशतले ओरालो लागे ।
प्रतिकृया