• 6:58 am

झण्डै चार करोड मूल्यको कोकिनसहित विदेशी नागरिक पक्राउ

प्रकाशित मिति

२०८१ जेष्ठ १४ गते, सोमबार ११:११

जेठ १४, २०८१ काठमाडौँ: दुबईबाट काठमाडौँ आएकी एक विदेशी नागरिकको साथबाट प्रहरीले ठुलो परिमाणमा लागू औषध कोकिन बरामद गरेको छ । जेठ ४ गते दुबईबाट काठमाडौँ आएकी अफ्रिकन मुलुक कङ्गोकी ४९ बर्सिया अपुला इकुत्सु एमबोङ्गो नाम गरेकी महिलाको साथबाट प्रहरीले एक केजी १०१ ग्राम कोकिन बरामद गरेको हो ।

बरामद गरिएको लागु औषधको अवैध बजार मूल्य अन्दाजी रु. तीन करोड ८५ लाख हुन आउने लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । कार्कीका अनुसार क्याप्सुल जस्तो बनाएर पेटभित्र निलेर ती महिला नेपाल आएकी थिइन् । उनीमाथि शङ्का लागेर प्रहरीले उनको पिछा गर्दै ठमेलको एक होटलमा बसिरहेको अवस्थामा शुक्रवार पक्राउ गरेको हो ।

उनको साथबाट प्लास्टिकले र्‍यापिङ गरिएका ८५ वटा क्याप्सुल बरामद गरिएको छ । पक्राउ परेकी महिला अवैध लागु औषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको बताइएको छ ।

पक्राउ परेकी महिलाउपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया