• ४ साउन २०८३, सोमबार
  • ७:१९ बेलुका

पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कार प्रदान

प्रकाशित मिति

२०८१ जेष्ठ ११ गते, शुक्रबार ११:०८

जेठ ११, २०८१ काठमाडौँ: पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उहाँलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर बिहीबार एक विशेष समारोहबीच नगद राशीसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरेको हो । उक्त पुरस्कारलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गर्नुभएको हो ।

दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । गीतकारसमेत रहनुभएकी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि पाठकमाझ आएको छ । मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहनुभएकी अधिकारी मिलाप राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक र हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ ।

Kamana Sewa

सो अवसरमा चलचित्र पत्रकारिता पुरस्कार–२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गरिएको थियो । मकवानपुरमा रहेर अधिकारी लामो समयदेखि छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय हुनुहुन्छ । हेटौंडाबाट कान्तिपुर टेलिभिजनका लागि पत्रकारिता गरिरहुनभएका अधिकारी चलचित्र पत्रकार संघ मकवानपुर शाखाका संस्थापक सहसचिवसमेत हुनुहुन्छ ।
यस्तै, संघले प्रदान गर्ने कलाकर्मी सम्मान २०८१ गायक तथा कलाकार कोशिस क्षेत्री र कलाकार ध्रुव न्यौपानेलाई प्रदान गरिएको थियो । मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रिय स्तरको कलाक्षेत्रमा सक्रिय रहेकाहरूलाई यस विधामा सम्मान गर्दै आइरहेको संघका अध्यक्ष कपिल खड्काले जानकारी गराउनुभयो ।

Classic Tech Desktop

सोही अवसरमा चलचित्र पत्रकार संघ नेपालको हेटौंडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पत्रकारिता कार्यशाला कार्यक्रमलाई साथ सहयोग गरेका मकवानपुरका पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसापत्र प्रदान गरिएको थियो । संघका अध्यक्ष खड्काको सभाध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, हेटौंडा वडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा–६ का अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, वानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागार्इं, महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, कलाकार सुशान्तकुमार श्रेष्ठ, संघका महिला विभाग संयोजक दीपज्योति थापा, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा, सम्मानितको तर्फबाट गीता अधिकारी, संघका उपाध्यक्ष श्रीराम अर्जुनलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईं, एनएस सिनेमाका सञ्चालक नवराज आचार्य, ओम्याक्स सिनेमा सञ्चालक राम राजभण्डारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको अतिथ्यता थियो ।

प्रतिकृया