• ७ असोज २०८३, बुधबार
  • ४ः४५ बेलुका

अन्तरलिङ्गीको बाँच्न पाउने अधिकारको माग

प्रकाशित मिति

२०८० चैत्र १२ गते, सोमबार १०:३५

चैत्र १२, २०८० काठमाडौँ: जनचेतनाको कमीका कारण अन्तरलिङ्गी विविधता भएका व्यक्तिबारे अभिभावक, समाज नै अलमलमै रहेकाले मानवअधिकारको हनन भइरहेको छ । क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक ईशान रेग्मीले महिला–पुरुष मात्र जन्म हुन्छ भन्ने मान्यता राख्ने समाजले योनि र शिस्नको नमुना एकै बालबालिकामा हुँदा वा अन्य स्थितिमा जन्मिएका बालबालिकाको लिङ्ग बदल्ने कारणले आफ्नो पहिचानअनुसार अन्तरलिङ्गीले बाँच्न पाउने हक खोसिरहेको बताउनुभएको हो ।

National Life

अन्तरलिङ्गीको विविधताबारे जानकारी दिन आयोजित कार्यक्रममा कार्यकारी निर्देशक रेग्मीले आफूले २१ वर्षको उमेरमा मात्र आफू अन्तरलिङ्गी भएको जानकारी पाएको बताउँदै अन्तरलिङ्गीबारे जानकारी दिने पुस्तक, चलचित्र, वृत्तचित्रलगायतको सामाग्रीको पनि अभाव रहेको र समाजले महिला र पुरुष पहिचान गरेको र पछिल्लो समय यौनिक तथा अल्पसङ्ख्यक भनेर लेखे पनि अन्तरलिङ्गीभित्रको विविधतालाई अझै नचिनेको बताउनुभयो । उहाँले छोराको बढी चाहना राख्ने नेपाली परम्पराका कारण यौनाङ्गको ढाँचाका आधारमा बालक र बालिका भनेर पहिचान गर्न नसकिने बालबालिका जन्मने बिक्तिकै शल्यत्रियाको चपेटामा परेको थुप्रै घटना रहेको बताउनुभयो । साथै उहाँले छोराको बढी चाहना राख्ने नेपाली समाजमा शिस्न र योनी भएका बालबालिका जन्मने बिक्तिकै शल्यत्रिया गर्ने हुँदा थुप्रै घटना रहेको बताउनुभयो ।

अधिवक्ता प्रपुशा केसीले बालबालिका सम्बन्धी ऐन, नियमावली, अपराध संहिता, कार्यस्थलमा हुने यौन दुव्यर्वहारसम्वन्धी कानुन, सम्पत्ति, जन्मदर्ता र नागरिकतालगायतका सबै किसिमका कानुनले अन्तरलिङ्गीबारे उल्लेख नभएको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले जन्मिएको ३४ दिनभित्र जन्मदर्ता गर्नुपर्ने कानुनी प्रावधान छ तर महिला–पुरुषको बाहेकका यौनिक पहिचान लिएर जन्मिएका व्यक्तिले वयस्क हुँदा मात्र आफू कुन पहिचान लिएर बाँच्ने भन्ने निर्णय लिन सक्छन्, भन्दै व्यक्ति वयस्क भएपछि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र नागरिकतासमेत सच्याउनेलगायतका बोझिलो प्रक्रियाबाट अन्तरलिङ्गीले गुज्रनु परेको यथार्थ रहेको बताउनुभयो ।

त्यसै गरी पत्रकार युवराज गौतमले विगतमा भन्दा हाल यौनिक तथा अल्पसङ्ख्यक समुदायका विविधताबारे लेख, रचना, समाचार बढी लेखिने गरेको बताउनुभयो । उहाँले यौनिक तथा अल्पसङ्ख्यक समुदाय भनेर सबै किसिमको यौनिक पहिचानलाई बुझाउन सकिन्न, भन्दै अन्तरलिङ्गीलगायत फरक पहिचान भएका व्यक्तिको वर्गीकृत तथ्याङ्क आउनुपर्छ र उहाँहरूलाई सम्बोधन हुने कानुनसमेत बन्नुपर्ने बताउनुभयो ।

प्रतिकृया