प्रशिद्ध भारतीय गजल गायक पंकज उधासको निधन
प्रकाशित मिति
२०८० फाल्गुन १४ गते, सोमबार ०५:५६
फागुन १४, २०८० काठमाडौँ: भारतका प्रशिद्ध गजल गायक पंकज उधासको निधन भएको छ। उनको ७२ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । उनको निधनबारे उनकी छोरी नायाब उधासले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। उनी लामो समयदेखि अस्वस्थ थिए। उनलाई १० दिन पहिले मुम्बईंको ब्रिच क्याण्डी अस्पताल भर्ना गरिएको थियो ।
पंकज उधास सन् १९५१ मे १७ मा गुजरातको जेतपुरमा जन्मिएका थिए। आफ्ना तीन भाइमध्ये उनी सबैभन्दा कान्छा थिए। उनका हजुरबुवा जमिनदार थिए भने बुवा सरकारी जागिरे थिए।
उनका बुवा कुशुभाई उधास र आमा जीतुबेन उधास गीतसंगीतमा रुचि राख्थे। जसका कारण पंकज उधासको पनि संगीतमा झुकाव बढेको थियो । उनले आफ्नो सांगीतिक यात्राको सुरुवात सन् १९८० मा ‘आहट’ नामको गजल एल्बमबाट गरेका थिए। उनले बलिउड चलचित्र ‘नाम’का लागि गाएको गजल ‘चिठ्ठी आई है’ लोकप्रिय बनेपछि उनको चर्चा चुलिएको थियो ।
उनको योगदानको कदर गर्दै भारत सरकारले पद्मश्रीबाट सम्मानित गरेको थियो। उनको निधनप्रति प्रशिद्ध गायक सोनु निगम, शंकर महादेवनलगायतका संगीतकर्मीहरुले दुःख व्यक्त गरेका छन् ।






प्रतिकृया