• १३ असोज २०८३, मंगलबार
  • ५ः०२ बेलुका

राजनीतिक दलहरुलाई राष्ट्रपति पौडेलको आग्रहः संविधान कार्यान्वयनका लागि प्रण गरौँ

प्रकाशित मिति

२०८० माघ १ गते, सोमबार ०३:५१

माघ १, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ ।

National Life

राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुनेगरी राजनीतिक दलहरुले छिटोभन्दा छिटो आवश्यक कानूनहरुको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको हो । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई माघी पर्वको अवसर पारेर सोमवार राष्ट्रपति भवन शितल निवासमा बोलाएर उहाँले नेपाली जनताको चाहना र भावनाअनुसार अघि बढ्नका लागि संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई साकार पार्ने अठोट सबै राजनीतिक दलहरुले गर्नुपर्ने बताउनु भयो । राष्ट्रपति पौडेलले आफूले राष्ट्रपति भएपछि भेट गरेका सबै विदेशी मित्र राष्ट्रका प्रतिनिधिहरुले पनि नेपालको संविधानको प्रशंसा गरेको उल्लेख गर्दै यसले जनतालाई दिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माणमा गर्ने काममा ढिलाई गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले यहाँ आएपछि जति पनि विदेशी प्रतिनिधिहरु, पाहुनाहरु, राजदुतहरु अथवा विभिन्न विदेशी निकायका प्रतिनिधिहरुसँग मेले भेटेको छु । उनीहरुले नेपालको अहिलेको संविधानको मुक्तकण्ठले स्वागत गर्ने र तल्लो भन्दा तल्लो वर्गलाई दिएको अधिकार महिला, दलित, जनजाति, अल्पसंख्यक, पीछडिएका दुर्गमका जनतालाई अधिकार प्रदान गरेको छ । यो बेजोड छ । अथवा यत्तिको संविधान दक्षिण एशियामा, सार्क मुलुकहरुमा कमै होला भनेर सबैले सम्मान गरेका छन् । प्रशंशा गरेका छन् । अव यसलाई कार्यान्वयनमा ल्याउने कुराको आवश्यक्ता छ । यो संविधानले जो जनतालाई पिछडिएका वर्गलाई, उपेक्षित वर्गलाई जो अधिकार दिएको छ । त्यो सार्थक हुनुप¥यो । त्यसलाई हामीले व्यवहारमा उतार्नका लागि कानूनहरु बनाउनुपर्नेछ । त्यसैले विशेष गरी ध्यान दिनुपर्ने विषय संविधानले दिएको अधिकारलाई कानुनद्धारा व्यवस्थित गर्नुपर्नेछ । ती कानूनहरुको निर्माण छिटो भन्दा छिटो हुन जरुरी छ भन्ने मलाई लागिरहेको छ । मेरो तपाईहरु सबैलाई अनुरोध र शुभकामना आग्रह के छ भने संविधान कार्यान्वयनमा जाऔं । जनताले अब जे पाइन्छ भन्ने आशा गरेका छन् । त्यो आशालाई निराशामा परिणत नगरौं । देशमा निराशा लगायतका कुराहरु आएका छन् । यो संविधान कार्यान्वयनको कमीले हो । अव पछाडि फर्कन कोही नेपाली जनता चाहदैनन् । नेपाली जनताको चाहना र भावना मैले पनि बुझेको छु । विदेशबाट आएकाहरुको मात्र होइन कि देश भित्रका जनताको पनि अगाडि बढ्ने चाहना छ । अगाडि बढ्ने हो, संविधान कार्यान्वयन गरेर देशलाई गर्ने हो । र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो । आज हामीले यही अठोट गर्नुपर्छ । हामीले समावेशी लोकतन्त्र साकार पारेर छोड्छौं । म आज यो माघीको दिनमा यो अब सबै नेपालीको पर्व भइसक्यो । म नेपालीहरुको यो मौलिक पर्वमा तपाईहरु सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Classic Tech Mobile
Classic Tech Desktop

त्यस अवसरमा राष्ट्रपति पौडेलले माघीलाई नेपालको मौलिक पर्वको रुपमा चित्रण गर्दै सबैमा शुभकामना समेत व्यक्त गर्नुभएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष, गणेशप्रसाद तिमिल्सिना, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवंंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति समशेर जबरालगयतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया