• 9:23 pm

भारतसमक्ष कृषिजन्य उत्पादनहरु भारत पठाउनेबारे विशेष छुट दिनुपर्छ भनेर भन्नुपर्छ : राजकिशोर यादव

प्रकाशित मिति

२०८० पुष १८ गते, बुधबार ०४:४७

पुस १८, २०८० काठमाडौँ: जनता समाजवादी पार्टीका नेता तथा सांसद राजकिशोर यादवले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझै सुमधुर र सुदृढ बनाउनुपर्ने बताएका छन् । उनले भने,‘नेपाल र भारतको सम्बन्धको कुरा गर्दा यो बहुआयामिक छ । यसमा सर्वविदितै छ । हामीले खुला बोर्डर सृेयर गर्छौं । हामी दुई देशका नागरिक बिना पासपोर्ट र भिसा एक अर्काको देशमा जान पाउँछौं । यो सम्बन्ध जुन कोणबाट हेर्दापनि ऐतिहासिक र बहुआयामिक छ ।’

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले आजको वैश्यिक युगमा दुई देशका साझा स्वार्थ पहिलाएर अघि बढ्नुपर्नेमा जोड दिए । नेपालले आफ्नो हितमा भारतसँगको सम्बन्धलाई बढावा दिनुपर्ने उनको सुझाव छ । उनले भने,‘अहिलेको नेपालको चुरो समस्या, हाम्रो युवाहरुको बेरोजगारी, हाम्रो अर्थतन्त्र जुनप्रकारले संकुचन हुँदै गैरहेको छ, खासगरी भारतसँगको करा गर्दा जुनप्रकारले हाम्रो व्यापार घाटा बढेर गएको छ, यो हाम्रो लागि चिन्ताको विषय हो । यो हाम्रो लागि मूल समस्या हो । हामी आयात गर्न बहादुर छौं । तर, निर्यात गर्न सकिरहेका छैनौं । अब निर्यात बढाउनको लागि फोकस भएर काम गर्नुपर्ने हुन्छ ।’

उनले नेपाल अहिले जुन अवस्थामा छ त्यसको लागि हिजो देशको नेतृत्व गरेकाहरुले एकचोटी आत्मसात् गर्नुपर्ने बेला आएको आवश्यकत्ता औंल्याए । उनले भने,‘नेपालको जुन प्राकृतिक स्रोत र साधननको अवस्था छ, नेपाल आर्थिक रुपमा यति कमजोर हुने मुलुक होईन । तथापि, यथार्थ के हो भने आज हामी उत्तरमा रहेको मुलुक विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक, दक्षिणमा रहेको मुलुक अहिले विश्वको पाँचौ ठूलो अर्थतन्त्र, र अब तेस्रो बन्नको लागि द्रुत गतिमा अघि बढिरहेको स्थिति छ । तर, यो बीचमा रहेको नेपाल, हामी चाहीँ आर्थिक दृष्टिकोणबाट हेर्दा पछाडिबाट हेर्नुपर्ने स्थिति छ । अरुलाई दोष दिनुभन्दा आफूले हेर्नुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालले भारतीय पक्षसँग कुरा गर्दा अब नेपालका आफ्ना उत्पादन खासगरी कृषिजन्य उत्पादनहरु भारत पठाउनेबारे विशेष छुटको मागसहित कुरा राख्नुपर्ने सुझाव दिए । उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूको जुन भारत भ्रमण भएको थियो, त्यो भ्रमणमा भारतले नेपालबाट दश हजार मेगावाट विद्युत १० वर्षभित्र किन्ने सम्झौता भएको थियो । त्यसलाई मूर्त रुप दिन नेपालले तयारी गरेको छ । अर्को हाम्रो उत्पादनहरु, भारतमा हामी के–के पठाउन सक्छौं ? खासगरी कृषिजन्य उत्पादनहरु भारत पठाउनेबारे विशेष छुट दिनुपर्छ भनेर भन्नुपर्छ ।’

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापतिसमेत रहेका यादवले छिमेक कमजोर र गरिब भयो अनि छिमेकीमा अशान्ति भयो भने उ जतिसुकै धनी वा सम्पन्न भएपनि ती छिमेकीहरु पनि पनि शान्त रहन नसक्ने सुनाए । उनले भने,‘भारत र चीनलाई हामीले तिमीहरु ठूलो अर्थतन्त्र भएको मुलुक हो, नेपालले पनि आर्थिक रुपमा कोल्टे फेर्ने कुरामा भारतको सहयोग लिने कुरा राख्न सक्नुपर्छ । यो आजको बास्तविक धरातलीय यथार्थ हो । भारतको जायज कन्र्सन हामीले असल छिमेकीको नाताले पूरा गर्नुपर्छ । सुरक्षाको दृष्टिकोणले हामीले आफ्नो भूमि कुनै प्रकारले तिमीहरुको विरुद्धमा उपयोग गर्न दिँदैनौं भनेर भन्नुपर्छ ।’

उनले विदेशमन्त्रीस्तरीय वार्तामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भएका महत्वपूर्ण सम्झौताहरु कार्यान्वयनबारे छलफल हुने बताए । उनले भने,‘प्रधानमन्त्रीले गर्नुभएको भारत भ्रमणको बेला भएका सम्झौतालाई कार्यान्वयनको लागि मुर्त रुपमा दिने बेला हो । हामी पछाडि पर्नुहुँदैन् ।’

यादवले अहिले राजनीतिमा संकट उत्पन्न भएको सुनाए । उनले भने,‘नेपालको राजनीति अलिकति संकटउन्मुख देख्दैछु । राजनीतिक नेतृत्वमा जिम्मेवारीवोधको अभाव र नैतिकताको खडेरी देखिएको छ । जनतामा निराशा र अविश्वास पैदा भएको छ । केही हुँदैन भन्ने भाष्य स्थापित हुँदै गैरहेको छ, यो हामे लागि दुर्भाग्य हो ।’

यादवले हालै ललितपुरको बालकुमारी घट्नामा दुई युवा होनाहोरले ज्यान गुमाएको प्रसंग उल्लेख गर्दै त्यसले अनिष्टको संकेत गरेको टिप्पणी गरे । उनले भने,‘बालकुमारी घट्नाबारे जसरी मन्त्रीहरुले एक अर्कालाई ब्लेमिङ गर्दैछन्, त्यो गलत छ । अनि राज्य कसरी सञ्चालन भएको छ भन्ने कुरा यो घट्नाले उदांगो पारेको छ । युवाहरुको राज्यप्रति आक्रोश बढेर गएको छ । सबै जना मिलेर, लोकतन्त्रमा सरकार असफल भयो भने प्रमुख प्रतिपक्ष भनेको वेटिङ सरकार, ठूला ठूला भ्रष्टाचार काण्डमा सबै दललाई एउटै बास्केटमा राखेर हेर्नुपर्ने अवस्था छ । सबै दलले नेपालको राजनीतिबारे गम्भीर चिन्ता गर्नुपर्छ ।’ यादवले देशको राजनीति अब रुपान्तरणको साथै पुस्तान्तरण हुनुपर्ने आवश्यकत्ता औंल्याए ।

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री दिनानाथ शर्माले नेपाल र भारतबीचको सम्बन्ध युगौंदेखि सुमधुर र राम्रो रहेको बताएका छन् । उनले भने,‘दुई देशबीच युगौंदेखि राम्रो सम्बन्ध छ । हामीबीच केवल कुटनीतिमात्रै नभएर जनस्तरमा पनि राम्रो सम्बन्ध छ । आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध छ । दुई देशको सम्बन्धलाई सुदृढ गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान भैरहेका छन् । राज्यको तर्फबाट प्रतिनिधिहरु जाने, आपसमा बदलिँदो परिवेशअनुसार छलफल गर्ने र दुई देशबीचको हितमा केन्द्रित भएर विश्वासको वातावरण सिर्जना गर्ने काम भएको छ । यो राम्रो हो ।’

उनले भारतीय विदेशमन्त्री जयशंकर नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयन जोड दिने बताए । उनले भने,‘भारतीय विदेशमन्त्री आउँदै हुनुहुन्छ, यो भ्रमणले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा भएका सहमतिहरुलाई कार्यान्वयन गराउने वातावरण बनाउनेछ । नेपालको आर्थिक हितको लागि सहयोग पुर्याउनेछ । पावर ट्रेडलाई मूर्त रुप दिने काम गर्नेछ । दुई देशबीचको व्यापार घाटालाई सन्तुलन कायम गर्नको लागि यसप्रकारको भ्रमणले महत्वपूर्ण योगदान दिनेछन भन्ने विश्वास राख्नुपर्छ । त्यस्तै, चिनियाँ प्रतिनिधिमण्डलपनि यहाँ आउँदैछ । भ्रमणको क्रममा कतिपय सम्झौता भएका छन्, ती विषयपनि सरकारको तर्फबाट महत्वपूर्ण रुपमा अघि बढाउने र चिनियाँहरुको सहयोग ल्याउनको लागि सरकारको तर्फबाट गृहकार्य भैरहेको छ ।’

नेपाल भारत र चीनजस्ता ठूला अर्थतन्त्र भएका मुलुकका बीचमा रहेको उल्लेख गर्दै उनीहरुबाट देशको विकासको लागि प्रचण्ड नेतृत्वको सरकारले केही समय यतादेखि काम गरेको उनको दाबी छ । उनले भने,‘अन्तर्राष्ट्रिय रुपमै नेपालको छविलाई अगाडि ल्याउनको लागि अनि विश्वासको वातावरण बनाउनको लागि यो सरकारले प्रयत्न गरेको छ । केही हदसम्म सफल भएको छ । देशको अर्थतन्त्रमा योगदान दिनको लागि यी भ्रमणले योगदान नै दिन्छन् ।’

उनले नेपालका शीर्ष नेताहरुबीच छलफल तथा सम्वाद हुनु नौलो कुरा नभएको टिप्पणी गरेका छन् । टिआरसी टुँगो लगाउने र राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित रहेर प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका नेतृत्वबीच भैरहेको छलफललाई केन्द्रित गरेर उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘शीर्ष नेताहरुबीच विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । पछिल्लो चरणमा परिवर्तनका वाहक शक्तिहरुका शीर्ष नेताहरुबीच परिवर्तनको रक्षाको लागि छलफल तथा भेटवार्ता हुनु सकारात्मक कुरा हो । अहिले परिवर्तनको विरुद्धमा कुनै कुनै कोणबाट भ्रम उत्पन्न गरिएपछि यो शक्तिबीच विश्वासको वातवारण बन्ने काम भएको छ । राष्ट्रिय हितमा केन्द्रित भएर विश्वासको वातावरण बनाउनुपर्छ । त्यसको लागि प्रचण्ड, देउवा, ओलीजीबीच सम्वाद भैरहेको छ । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । राष्ट्रिय हितको लागि आपसी विश्वासको वातावरण बनाउनु राम्रो कुरा हो ।’

शर्माले अहिलेको सत्ता गठबन्धन अहिले केही नहुने दाबी गरे । उनले भने,‘यो गठबन्धन निरन्तर जान्छ । यो कुनै तलमाथि हुँदैन् । आवश्यक पर्यो भने एमालेलाई (प्रतिनिधिविहीन) बनाउने पक्षमा छैन् । संविधान नै कोलिसन कल्चरलाई बढावा दिनेछ ।’ नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री रामकृष्ण यादवले नेपाल र भारतबीच युनिक सम्बन्ध रहेको भन्दै यसलाई अझै सुदृढ बनाउनुपर्ने बताए । उनले भने,‘नेपाल र भारतको सम्बन्ध धेरै पूरानो र मित्रताको सम्बन्ध हो । छिमेकी देशको सम्बन्ध हो । हामीबीच खुला सिमाना छ । राजनीतिक, सांस्कृतिक, सामाजिक, धार्मिक र आर्थिक र व्यवहारिक सम्बन्ध छ । अन्य मुलुकभन्दा नेपाल र भारतबीच युनिक सम्बन्ध छ । यो सम्बन्ध जनस्तर र भौगोलिक सम्बन्ध हो । केही महिना पहिले हाम्रो प्रधानमन्त्रीको भारत भ्रमण भएको थियो । भारत भ्रमणको क्रममा नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन हुन्छन् ।’

उनले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा दुई देशबीच उच्चस्तरीय वार्ता हुने र त्यस वार्तामा यसअघि भएका सम्झौता कार्यान्वयनबारे समिक्षा हुने जनाए । उनले भने,‘राजनीतिक र विकास निर्माणबारे छलफल हुनेछ । हिजोपनि भएको हो, भोलि पनि छलफल हुनेछ । सरकार–सरकारबीच, हाम्रो बीचमा सिमादेखि विकासबारे जुन समस्या छन्, त्यसबारे समिक्षा हुन्छ । सम्झौता कार्यान्वयनबारे समिक्षा नै हुने मुख्य उद्देश्य हो ।’

यादवले अहिलेको सरकार गठबन्धनको सरकार भएको र सरकारको एक वर्षमा मिश्रित नतिजा रहेको बताए । उनले भने,‘यो सरकार गठबन्धनको सरकार हो । गठबन्धनको सरकार बाध्यता पनि हो । संसद्को बनोट हेर्दा यहाँ कुनै एक दलको बहुमत छैन् । यो सरकारको एक वर्षको नतिजा मिश्रित छ । राम्रो काम भनेको नागरिकताको समस्या हल भयो । इजरायलबाट नेपालीहरुको उद्धार भयो । इजरायलबाट आफ्ना नागरिक उद्धार गर्नेमा नेपाल पहिलो देश हो । मिटरब्याजीको समस्या समाधान भयो । तर, अहिलेपनि मुलुकमा बेरोजगारीको समस्या विकराल छ । कृषिको लागि आधुनिकीकरण भएन । बजेटमा भएका कुरा पनि पूर्ण रुपमा कार्यान्वयन भएको छैन् । विकास निर्माणका कार्य वर्षौदेखि अलपत्र भएका छन् । भ्रष्टाचारविरुद्ध सरकारले कदम चाल्छ, तर परिणाम आएको छैन् । बीचबाटै शिथिलता देखिएको छ । तीन तहका सरकारबीच समन्वयन र तालमेल भएको छैन् । निजामती र प्रहरी ऐन प्रदेशले पाएको छैन् । त्यतातिर ध्यान दिनुपर्छ ।’

प्रतिकृया