• 5:40 pm

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै, क–कसलाई भेट्दै छन् उनले ?

प्रकाशित मिति

२०८० पुष १९ गते, बिहीबार ०८:०९

पुस १९, २०८० काठमाडौँ: नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार (आज) काठमाडौं आउँदै छन् ।

संयुक्त आयोगको बैठक आजै सुरु हुनेछ । भारतीय विदेशमन्त्री जयशंकर आज बिहान सवा ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनी विशेष विमानमार्फत काठमाडौं आउने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्ने छिन् ।

बिहान ११ बजे विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटवार्ता राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।

राष्ट्रपतिलाई भेटेर बाहिरिएपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मध्याह्न १२ बजे शिष्टाचार भेटवार्ता गर्नेछन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ ।

आज दिउँसो १ बजे उनी नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दरबारमार्गथित होटेल याक एन्ड यती जाने कार्यक्रम छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतको नेतृत्व जयशंकरले गर्नेछन् । बैठकमा सहभागी हुनुअघि उनले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गर्नेछन् ।

आज दिउँसो १ः४५ बजे नेपाल र भारतबीच विद्युत् र आर्थिक सहयातासम्बन्धी दुईवटा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । दुई देशका विदेशमन्त्रीको उपस्थितिमा हस्ताक्षर कार्यक्रम हुनेछ ।

आज दिउँसो २ बजे भारतीय विदेशमन्त्री जयशंकर उनको सम्मानमा परराष्ट्रमन्त्री साउदले आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन् । आजै साँझ साढे ६ बजे उनी विदेशमन्त्रीले आयोजना गर्ने रात्री भोजमा सहभागी हुने कार्यक्रम छ ।

शुक्रबार बिहान साढे ९ बजे भारतीय विदेशमन्त्री जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र अन्य भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । उनी शुक्रबार मध्याह्न साढे १२ बजे भारत फर्कनेछन् ।

प्रतिकृया