पोखरामा आजदेखि सुरु हुँदै टी-२० क्रिकेट, विजेतालाई ५ लाख
प्रकाशित मिति
२०८० मंसिर ७ गते, बिहीबार ११:०८
मंसिर ७, २०८० काठमाडौँ: गण्डकी प्रदेशको राजधानी पोखरामा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबारबाट ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगिताको आयोजना गर्दै छ। १५ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।
पहिलो दिन बागमती प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोबीच बिहान ११ बजे खेल हुने छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गर्ने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख प्राप्त गर्दा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी, उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले बताएको छ ।
त्यस्तै, प्रतियोगितामा विधागत रूपमा विजेतालाई समेत नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले नगद रु ३० हजार प्राप्त गर्दा ‘बेस्ट बलर’ ले नगद २० हजार र ‘म्यान अफ द म्याच’ ले नगद रु पाँच हजार पुरस्कार पाउने छन् ।
प्रतियोगिताको अनुमानित लागत ७५ लाख रहेको छ ।
प्रतिकृया