• ११:५३ २०८० फाल्गुन ११ गते
  • 11:53 am

टी-२० विश्वकप छनोट : नेपाल र सिंगापुर भिड्दै

प्रकाशित मिति

२०८० कार्तिक १३ गते, सोमबार ०८:५२

t20 world cup qualifier eUFrhiI088 e1698635208984

कात्तिक १३, २०८० काठमाडौँ: सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।


छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चारवटा खेल हुनेछन् । कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबिच खेल हुनेछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।


यसैगरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबिच तेस्रो खेल हुनेछ । त्यो खेल नेपाली समयअनुसार, दिउँसो १ः१५ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबिच चौथो खेल खेलाइने छ ।


आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् । आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ ।


एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा आयोजना नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरको सहभागिता रहने छ । प्रतियोगिता खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।


प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजना गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् ।


प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चारवटै टोलीले एकअर्कासँग एक-एक खेल खेल्नेछन् । त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।


प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ ।


सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ ।

प्रतिकृया