• ०५:२८ २०८० फाल्गुन १२ गते
  • 5:28 am

नेपाल–भारत सिमा नाकामा कडाइ गरिने

प्रकाशित मिति

२०८० कार्तिक १२ गते, आईतवार ०२:१७

simanaka

कात्तिक १२, २०८० वीरगञ्ज : नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासी/पैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ । पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासी/पैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागुऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपाराधिक घटना हुन नदिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिनुभयो ।


यस्तै बैठकमा सिमानाकाबाट हुने अवैध वन्यजन्तुको चोरी सिकारी तथा तस्करीलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीबीच समझदारी भएको प्रजिअ रेग्मीले बताउनुभयो । भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई मध्यनजर गरी सिमाक्षेत्रको सुरक्षा प्रबन्धलाई चुस्तदुरुस्त बनाउने र दुवै मुलुकका सुरक्षा अधिकारीबीच सहकार्य गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय भएको प्रजिअ रेग्मीको भनाइ छ । बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पूर्वी चम्पारणका डिएम सौरभ जरुवालले नेतृत्व गर्नुभएको थियो ।

प्रतिकृया