• २ असोज २०८३, शुक्रबार
  • ११ः५० बिहान

मानसिक रोग अन्य सामाजिक रोग जस्तै हो भेदभाव नगरौँ : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति

२०८० आश्विन २३ गते, मंगलवार ०३:००

असाेज २२, २०८० काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताएका हुन् ।

National Life

प्रधानमन्त्री दाहालले आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण गर्न थप प्रभावकारी पहलहरु अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे ।


“मानसिक बिरामी पनि अन्य सामाजिक रोगी जस्तै हुन् । त्यसैले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ उनीहरुलाई सम्मानजनक व्यवहार गरौँ”, उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, “वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गर्न अन्य देशहरुसँग समन्वय गर्न आवश्यक छ ।” उनले नेपालमा दसमध्ये एक जना मानसिक समस्यासँग बाँचिरहेको र दैनिक १९ जनाले ज्यान गुमाउने गरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे ।


प्रधानमन्त्री दाहालले भने, “समाजमा व्याप्त गरिबी, बेरोजगारी, जातीय तथा लैङ्गिक भेदभाव, अपेक्षाअनुरुपको जीवनशैली बाँच्न नसक्नु, सांस्कृतिकरुपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधानप्रदत्त मौलिक अधिकारविरुद्ध छन् । ”


उनले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निन्द्रा, दैनिक व्यायाम र दुःखमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत आग्रह गरे ।

प्रतिकृया