• १३ असोज २०८३, मंगलबार
  • ७ः३० बिहान

‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

प्रकाशित मिति

२०८० आश्विन १५ गते, सोमबार ११:३५

असाेज १५, २०८० काठमाडाैं : गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन्। शरद यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन्। पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ।

National Life

धौलागिरि गाउँपालिका–३ मुनाका बालकृष्ण मगरले ढोरपाटनको जलजला र धनमाने खर्कमा तीन महिना बुकीको घाँस खुवाएका गाइगोरुको गोठ ल्याएर गत हप्ता गाउँमा झरेको बताए। ‘वैशाखमा उभौलीको पूजा गरेर लेकतिर लागेको गोठ पालुवा पलाउँदै गरेको घाँस खुवाउँदै जेठको अन्तिममा जलजलाको धनमाने खर्कमा पुगेका थियो’, उनले भने, ‘तीन महिना बुकीमा चराएर अहिले गाउँको मकै बारीमा उम्रिएको घाँस खुवाउन ल्याएको हो।’


दशैँमा गाउँ नजिकैको बारीमा रहने गोठ तिहारमा धान भित्र्याएपछि बेँसीको सोलवाङ फाँटमा झार्ने चलन रहेको मगरले बताए। गोठ बेँसी झर्न थालेपछि गाउँघरमा चाडपर्व भित्रिएको महशुस गर्छन्।

Classic Tech Mobile
Classic Tech Desktop

पोसिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन्। गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहलले रौनक छाएको छ। पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन्। ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन्।


महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुने गर्छ। करिब तीनचार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धौलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गाबहादुर पहरे पुनले बताए।


‘पहिले हामी गोठमा जाँदा घरमा किनेर तेल खानुपर्दैनथ्यो। घ्यूले पुग्थ्यो। मोही धेरै भएर खोलामा फाल्नुपर्थ्यो’, उनले भन्नुभयो, ‘अहिले गोठ राख्ने ठाउँसम्म नै गाडी पुगेकाले खाने, बस्ने सामान बोक्नुपरेन। घ्यू र मोहीबाट छुर्पी बनाएर बिक्री गरेर आम्दानी हुन्छ।’


एउटै परिवारले दर्जनौँ पशुचौपाया पाल्ने गर्छन्। बस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन्। ढोरपाटन नजिकैको जलजला र गुर्जाघाट क्षेत्र म्याग्दीको धौलागिरि गाउँपालिकाको कृषकको लागि छुट्टाइएको छ।


पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन्।

प्रतिकृया