• 3:48 pm

काठमाडौं महानगरपालिकाले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारीमा जोड्ने

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ०१:१२

भदौ ४, २०८० काठमाडौँ: काठमाडौं महानगरपालिकाले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारीमा जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगर क्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ ।


सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत–सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको कामपाले जनाएको छ ।


सूचीकृत जनशक्तिलाई अरू सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सम्बन्ध सेतु बनाउनु श्रम बैंकको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको छ ।


योजना सञ्चालनसँगै बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरको विश्वास छ । यसबाट श्रम संस्कृतिको विकास हुनाका साथै वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्दत गर्ने महानगरले जनाएको छ । महानगरपालिका क्षेत्रभरि चालु आवका लागि श्रम गर्न इच्छुक व्यक्तिहरूले तोकिएको फाराममा आवश्यक विवरण भरी आफू बसेको वडा कार्यालय वा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा आवेदन पेस गर्न कामपाले आग्रह गरेको छ ।


चालु आवमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा स्वीकृत दर रेटका आधारमा पारिश्रमिक पाउने महानगरले जनाएको छ । रोजगारीका क्रममा कामपावासीले विशेष प्राथमिकता पाउनेछन् । महानगरका लागि आवश्यक श्रमशक्ति दैनिक ज्यालादारी वा पटकेमा लिँदा यसै सूचीकरणबमोजिम मात्र लिइने महानगरपालिकाले जनाएको छ ।

प्रतिकृया