• 5:03 am

टीआरसी विधेयक छिटो पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

प्रकाशित मिति

२०८० श्रावण १७ गते, बुधबार ०८:०९

१७ श्रावण २०८०, काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक (टीआरसी विधेयक) चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।


मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन उक्त ऐन चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता मीन विश्वकर्माले बताए ।


‘कहाँ कहाँ अफ्ठ्यारा विषय छन्, त्यसलाई कसरी सहज बनाउने र सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनलाई छिटो भन्दा छिटो पारित गराउने र अरु सम्बन्धित पक्षसँग कसरी सहमति जुटाउने भन्ने बारेमा छलफल भएको हो’, उनले भने ।


सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन हाल प्रतितिनिधिसभामा विचाराधीन छ । उक्त विधेयकको विवादित विषयमाथि हाल एक उपसमितिमा छलफल भइरहेको छ ।


कांग्रेस नेता विश्वकर्माले संसदको गतिरोध अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने बताए । ‘संसदको गतिरोध अवरोध अन्त्य गर्न सभामुखले पहल गरिरहनुभएको छ । सरकारले पनि यसमा पहल गर्नुपर्छ । हामीले भनिरहेका छौं । विवादित विषयमा सरकारले प्रश्न उठेपछि प्रष्ट्याउनुपर्छ । त्यसपछि संसदको गतिरोध समाप्त हुन्छ’ उनले भने ।

प्रतिकृया