• ७ भदौ २०८३, सोमबार
  • ८:४० बिहान

एमाले शीर्ष नेताहरुको ७० वर्षे उमेरहद परिवर्तन गर्ने

प्रकाशित मिति

२०८० जेष्ठ २४ गते, बुधबार ०८:२६

२४ जेठ २०८०, काठमाडौँ : एमालेका अधिकांश शीर्ष नेताहरुको सक्रिय राजनीति जोगाउन उमेर हद सम्बन्धी व्यवस्था परिवर्तन गर्ने भएको छ। २०७१ सालमा भएको नवौँ महाधिवेशनले पार्टीको सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरेको थियो।


विधानमा गरेको यस्तो व्यवस्थालाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा एमालेभित्र छलफल हुँदै आएको थियो। अब भने एमालेले आफ्नो विधानको धारा ६४ मा भएको उमेर हद सम्बन्धी प्रावधान नै हटाउने निष्कर्षमा पुगेको छ।

Kamana Sewa

शुक्रबार बसेको सचिवालय बैठकले उमेर हटाउने निर्णय गरेको हो। पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले भने, ‘मैले बुझेसम्म उमेर हदसम्बन्धी व्यवस्था स्थगित गर्ने निर्णय भएकोे छ।’ अर्का एक नेताका अनुसार विधानमा रहेको उमेर हद सम्बन्धी व्यवस्था हटाउन महाधिवेशनमा पेश गरिनेछ।

Classic Tech Desktop

झण्डै दुई वर्ष अघि पार्टी विभाजन लगत्तै भएको विधान सम्मेलनले ७० वर्षे उमेर हदलाई अध्यक्ष केपी शर्मा ओलीको जन्म मिति हेरेर संशोधन गरेको थियो।


दोस्रो कार्याकालका लागि अध्यक्ष बन्न लागेका ओली ७० वर्ष पुग्न केही महिना मात्रै बाँकी रहेको अवस्थामा विधानमा ७० वर्ष नपुग्दै निर्वाचित भएमा कार्यकाल पूरा गर्न पाउने प्रावधान राखियो।


एमालेको हालको विधानमा उल्लेख गरिएको छ, ‘सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने छ। तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन÷अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुग्ने छैन।’


दुई वर्षअघि ओलीका लागि विधान संशोधन गरेको एमालेले अब भने सबै जसो शीर्ष नेताहरुलाई घाँडो भएको उमेर हद हट्ने निश्चित भएको छ। यदि ७० वर्षे उमेर हद कायम राख्ने हो भने एमालेका पदाधिकारी तहका धेरै शीर्ष नेताहरु राजनीतिबाट रिटायर्ड हुनेछन्। ओलीकै लागि पनि तेस्रो कार्यकालका लागि नेतृत्वमा पुग्ने ढोका खुल्नेछ।


२०१० माघ २२ गते जन्मिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ७० वर्ष पुगिसकेका छन्।


अहिलेकै प्रावधान कायम रहँदा उनी २०८३ सालमा हुने एमालेको ११औँ महाधिवेशनबाट रिटायर्ड हुनेछन्। उपाध्यक्ष सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यले पनि आउँदो महाधिवेशनबाट सक्रिय राजनीति त्याग्नुपर्ने हुन्छ।


२००९ फागुन मा जन्मिएका नेम्वाङ अहिले नै ७१ वर्षका भइसकेका छन्। अर्का उपाध्यक्ष रामबहादुर थापा (बादल) र नेता भीम रावल ६८ वर्ष पुगेका छन्। यदि ७० वर्षे प्रावधान कामय राख्ने हो भने उनीहरु दुवै जना २०८३ मा राजनीतिबाट रिटायर्ड हुनेछन्।


७० वर्षे प्रावधान स्थगित हुँदा तत्कालका लागि फाइदा भने मुकुन्द न्यौपानेलाई हुने भएको छ। एकीकृत समाजवादीमा लागेर पुनः एमालेमा फर्किएका न्यौपाने ७० वर्ष काटिसकेका छन्। यदि एमालेमा फर्किने हो भने नेता वामदेव गौतमलाई पनि राजनीति गर्न ७० वर्षे प्रावधान हटाउने निर्णयले फाइदा पुग्नेछ।

प्रतिकृया