• 2:11 pm

प्रतिनिधि सभा बैठक सोमबारसम्मका लागि स्थगित

प्रकाशित मिति

२०८० जेष्ठ २१ गते, आईतवार ०४:४१

२१ जेठ २०८०, काठमाडौँ: प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँस गरेर अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी गराएको हो ।


आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए। साथै, प्रधानमन्त्रीको भारत भ्रमणका कतिपय विषय पनि उठाएका थिए ।


विपक्षी दलका सांसदहरुले आ-आफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले बैठकलाई एक घण्टाका लागि स्थगित गरिदिएका थिए । बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा सहमतिको प्रयास भएको थियो। छलफलमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि पूर्वनिर्धारित कार्यसूची अनुसार प्रतिनिधि सभामा बजेटमाथि छलफल पनि हुन सकेन ।

प्रतिकृया