नेपालले अभाव झेलिरहेको रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार
प्रकाशित मिति
२०८० बैशाख ८ गते, शुक्रबार ०२:०६
८ वैशाख २०८०, काठमाडौँ: नेपालमा लामो समयदेखि मलको अभाव झेलिरहेको अवस्थामा रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन सकारात्मक देखिएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिए ।
रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत् मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताए। त्यसका लागि नेपालले मन्त्रिपरिषदबाट निर्णय गरेर प्रक्रिया अगाडि बढाउन उनको आग्रह थियो ।
अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्कोबिचको भेटमा नेपाल र रुसबीचको सिधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो।
उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा ऊर्जा, पर्यटन, व्यापार क्षेत्रमा लागनी अभिवृद्धि र यातायात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पूर्वाधार र ऊर्जा क्षेत्रमा रुसी लगानी भित्रिने विश्वास व्यक्त गरे।








प्रतिकृया