नेपालद्वारा ओमानलाई कीर्तिमानी लक्ष्य
प्रकाशित मिति
२०८० बैशाख ८ गते, शुक्रबार ०१:४९
८ वैशाख २०८०, काठमाडौँ: कुशल मल्लको शतकीय इनिङ र सोमपाल कामीको ६३ रनको अविजित इनिङमा नेपालले ओमानलाई एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक उच्च स्कोरको लक्ष्य दिएको छ। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो। नेपालले पहिलो पटक ३ सय रनको आँकडा पूरा गरेको हो। यसअघि नेपालले गत मार्चमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो।
टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले सानदार शतकीय इनिङ खेलेपछि खराब सुरुवातका बाबजुत नेपालले ३१० रनको कीर्तिमानी स्कोर तयार गरेको हो।
अलराउन्डर कुशल मल्लले करिअरको पहिलो शतक प्रहार गर्ने क्रममा ओमान विरुद्ध ५९ बलमानै शतक प्रहार गरेका थिए। उनले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १०८ रन बनाएर आउट भएका थिए। उनी नेपालका लागि सर्वाधिक कम बलमा शतक प्रहार गर्ने खेलाडी समेत बने।
मल्लले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौँ शतक पूरा गरे। उनीअघि नेपालका लागि पारस खड्का, रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका छन्। उनीबाहेक सोमपाल कामीले सानदार अर्धशतक बनाउन सफल भए। कामी ४८ बलमा ९ चौकाको सहयोगमा ६३ रन बनाएर अविजित रहे। उनलाई करण केसीले २९ रनमा साथ दिए। यी दुई बीच नवौँ विकेटका लागि ६१ रनको अविजित साझेदारी भएको हो।
त्यस्तै, नेपालका लागि भीम सार्कीले ५६ बलमा ३३ रन बनाउँदा आरिफ शेखले ४३ बलमा २९ रन बनाएका थिए। थप दोहोरो स्कोरका रूपमा कप्तान रोहित पौडेलले २३ रन बनाउँदा करण केसी २९ रनमा अविजित रहे।
त्यसअघि खराब सुरुवात गरेको नेपाल खाता नखोल्दै दुई विकेट गुमाउन पुगेको थियो। ओपनरहरू कुशल भुर्तेल र आसिफ शेख शून्य रनमा आउट भएका थिए। नेपालले पाचौँ ओभरमा मात्र पहिलो रन जोड्न सफल भएको थियो। ओमानका लागि आयान खानले २ विकेट लिँदा विलाल खान, कलेमुल्लाह, जेसन मसुद, फायद बट, अकिब इलियस र जितिन्द्र सिंहले समान १-१ विकेट लिएका थिए।







प्रतिकृया