• १२:३० २०८० चैत्र ६ गते
  • 12:30 pm

संकल्प प्रस्ताव कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न उपसमिति गठन

प्रकाशित मिति

२०७९ चैत्र १० गते, शुक्रबार ०४:४८

336391171 191917940254629 3264138001029782273 n e1679655628931

१० चैत्र २०७९, काठमाडौँ : राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनको अनुगमन गर्न उपसमिति गठन गरेको छ। गत बुधबार बसेको राष्ट्रिय सभाको बैठकले दलित समुदायका विभेद र उत्पीडन अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मत पारित गरेको थियो।


राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारको प्रस्तावमा तथा राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार र सिंहबहादुर विश्वकर्मालगायत १८ जना सदस्यको समर्थनमा सो संकल्प प्रस्ताव पारित भएको थियो।



शुक्रवार बसेको समितिको बैठकले सो संकल्प प्रस्तावको कार्यान्वयनको अवस्थाको अनुगमन गर्न समिति सदस्य भुवनबहादुर सुनारको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमिति सदस्यहरुमा तुलप्रसाद विश्वकर्मा र सिंहबहादुर विश्वकर्मा रहनुभएको छ। बैठकको निर्णयबारे जानकारी दिँँदै समिति सभापति प्रकाश पन्थले संकल्प प्रस्ताव पारित गर्दा सरकारलाई आवश्यक निर्देशनसमेत दिइएको बताए।


उनले विषयगत समितिलाई पनि आफ्नो क्षेत्रभित्र पर्ने विषयमा कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्ने निर्देशन भएकाले दिगो विकास तथा सुशासन समितिले ३ सदस्यीय अनुगमन समिति बनाएको बताए। उनले समितिका अन्य सबै सदस्य आमन्त्रित सदस्यका रुपमा रहने र सबैले अनुगमनका लागि सहयोग गर्ने निर्णय भएको पनि जानकारी दिए।


सभापति पन्थले सो उपसमितिको कार्यकाल समितिको कार्यकालभरि रहने बताए। उपसमितिले आगामी असारसम्म आफ्नो कामको प्रतिवेदन पेस गर्नुपर्ने र अरू प्रगति विवरण भने उपसमितिको कार्यकाल सकिनु एक महिनाअगाडिसम्म बुझाउन सकिने जानकारी दिए।

प्रतिकृया