• 8:41 am

विश्वकप लिग-२ : पीएनजीले यूएईलाई दियो २४७ रनको लक्ष्य

प्रकाशित मिति

२०७९ फाल्गुन २६ गते, शुक्रबार ०१:२२

२६ फागुन २०७९, काठमाडौँ: क्रिकेट विश्वकप लिग-२ मा शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यु गिनी (पीएनजी) ले युनाइटेड अरब इमिरेट्स(यूएई) लाई २४७ रनको विजयी लक्ष्य दिएको छ ।पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको हो । पीएनजीका लागि सेसे बाउले नटआउट रहँदै सर्वाधिक ८१ रन बनाए ।


१०६ बल सामना गरेका उनले १० चौका प्रहार गरे । त्यस्तै ओपनरद्वय हिरी हिरी र किप्लिन डोरिगाले क्रमश: ७७ र ५५ रन बनाए । अन्य ब्याटरले भने उल्लेख्य रन जोड्न सकेनन् । यूएईका लागि आयन खानले १० ओभरमा ३ ओभर मेडन राख्दै ३४ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै जुनैद सिद्दीकी र जहूर खानले २/२ विकेट तथा रोहन मुस्तफा र कार्तिक मेइअप्पनले १/१ विकेट लिए ।


विश्वकप लिग २ मा सबै ३६ खेल खेलेको स्कटल्यान्ड ५०, ओमान ४४, नामिबिया ३९ र अमेरिका ३५ अंकसहित पहिलो चार स्थानमा छन् । सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन टोलीले सिधै विश्वकप छनोटमा स्थान पाउने छ भने शीर्ष ५ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ । नेपाल बाँकी तीन खेल जित्ने हो भने शीर्ष ३ राष्ट्रमा पर्नेछ ।


नेपालले आइतबार यूएई, सोमबार पीएनजी र फेरि यूएईसँग बिहीबार खेल्दै छ । यूएई ३२ खेलमा ३१ अंकसहित छैटौ स्थानमा छ । पीएनजी ३३ खेलमा ९ अंकसाथ पुछारमा छ । नेपाल ३३ खेलमा ३४ अंक बटुल्दै पाँचौं स्थानमा छ । नेपालले बाँकी रहेको तीन खेलमा एक जित हात पारेमा उक्त मान्यता कायम राख्नेछ ।

प्रतिकृया