• 2:50 am

मर्जरपछि सिद्धार्थ प्रिमियर बन्यो सबैभन्दा ठूलो बिमा कम्पनी

प्रकाशित मिति

२०७९ फाल्गुन १८ गते, बिहीबार ११:०६

१८ फागुन २०७९, काठमाडौँ: मर्जरमा गएका सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालिएको हो । एकीकृत कारोबारको प्रारम्भ नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे ।


सिलवालले अरू बिमा कम्पनीले पनि चैत मसान्तभित्र मर्जरमा गएर पुँजी वृद्धि गर्नुपर्ने बताए । उनले कम्पनीहरूले पुँजी वृद्धि गरेर विश्व बजारमा भित्रिएका प्रविधिलाई नेपालमा पनि प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । अहिलेको व्यावसायिक चेतले नहुने भन्दै उनले फरक किसिमका बिमालेखहरू ल्याउनुपर्ने बताए ।


अध्यक्ष सुरेशलाल श्रेष्ठले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एकआपसमा मर्जरमा गएसँगै नेपालको सबैभन्दा ठूलो निर्जीवन बिमा कम्पनी भएको जानकारी दिए । उनका अनुसार अब कम्पनीको चुक्तापुँजी दुई अर्ब ८० करोड रुपैयाँभन्दा बढी पुगेको छ । बिमा कोषमा दुई अर्ब ३४ करोड भन्दा बढी रहेको पनि जानकारी दिइएको छ ।


यसैगरी कम्पनीको कुल सम्पति १० अर्ब २५ करोड छ । बजार पुँजीकरण १८ अर्ब २३ करोड पुगेको छ । कम्पनीद्वारा जारी गरिएको बिमालेख संख्या चार लाख १७ हजार १८२ रहेको पनि अध्यक्ष श्रेष्ठले बताए । यी दुई कम्पनी एक भएसँगै १२५ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्ने बताइएको छ ।


मर्जरपछि बनेको नयाँ कम्पनीमा प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्रबहादुर वैदवार क्षेत्री नियुक्त भएका छन् । यी दुवै बिमा कम्पनी १ः१ समान सेयर अनुपातमा एक आपसमा मर्जरमा गएका हुन् ।

प्रतिकृया