• 5:05 pm

मानवीय त्रुटिले ग्रीसमा रेल दुर्घटना भएको पुष्टि, स्टेशनमास्टर पक्राउ, मन्त्रीको राजीनामा

प्रकाशित मिति

२०७९ फाल्गुन १८ गते, बिहीबार ११:१३

१८ फागुन २०७९, काठमाडौँ: कम्तीमा ४३ जनाको ज्यान लिने गरी ग्रीसमा भएको रेल दुर्घटना ‘दुःखद मानवीय त्रुटि’का कारणले भएको भन्दै त्यहाँ यातायात मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री कीरियाकोस मित्सोटाकिसले मंगलवार राति यात्रुवाहक र मालवाहक रेल ठोक्किएको घटनास्थलको भ्रमण गरेपछि मानवीय त्रुटि भएको बताए।


स्थानीय स्टेशनमास्टरलाई हत्याको आरोप पक्राउ गरिएको छ । ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन् । उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई जारी राखेका छन् । दुर्घटना मंगलवार मध्यरातअघि भएको हो । करिब ३५० यात्रु बोकेको यात्रुवाहक रेल लारिसा सहरबाट बाहिरिने क्रममा सुरुङबाट निस्कँदा मालवाहक रेलसँग ठोक्किएको थियो ।


दुवै रेल एकै समय एउटै ट्र्याकमा किन चलिरहेका थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन । ‘सिग्नलिङ’को जिम्मेवारीमा रहेका स्टेशनमास्टरले आफ्नो गल्तीलाई अस्वीकार गर्दै सम्भावित प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताएका छन् । ट्रेड युनियनहरूले कर्मचारीको अभाव, बिग्रिएको संकेत उपकरण र पुराना संरचनाहरूलगायतका कारण दुर्घटना भएको बताएका छन् ।

प्रतिकृया