ह्यारी र मेघनलाई खाली गर्न भनियो बेलायतको घर
प्रकाशित मिति
२०७९ फाल्गुन १८ गते, बिहीबार ११:३२

१८ फागुन २०७९, काठमाडौँ: राजकीय जिम्मेवारी त्यागेर अमेरिका गएका बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेको उनीहरूको घर खाली गर्न भनिएको छ । द गार्डियनका अनुसार ह्यारी र मेघनका एक जना प्रवक्ताले बेलायती राजपरिवारले उनीहरूलाई विन्डसर क्यासलनजिकै रहेको फ्रगमोर कटेज खाली गर्न भनेको बताएका छन्। यो भवन १७ औं शताब्दीमा बनेको बताइन्छ ।
ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’ सार्वजनिक गरेपछि बेलायती राजपरिवार र ह्यारी-मेघन सम्बन्धमा थप तिक्तता आएका बेला उनीहरूलाई घर खाली गर्न भनिएको हो । बेलायतका राजा चार्ल्सले पनि यो कुरालाई स्वीकृति दिएका छन् ।
ह्यारी र मेघनले केही दिनमै यो घर छोडेमा राजा चार्ल्सको राज्याभिषेक हुनुअघि नै ह्यारी-मेघनको बेलायती राजपरिवारसँगको सम्बन्ध थप कमजोर हुनेछ । ह्यारी र मेघनलाई खाली गर्न भनिएको घर अर्का राजकुमार एन्ड्रुलाई दिइएको बताएको छ उनी पनि अहिले राजकीय पदमा छैनन् ।
प्रतिकृया