एम्बुलेन्समा कस्ता बिरामी थिए मलाई थाहा भएन,अलि गम्भीर बिरामी थिए भने त ज्यान नै जान सक्छ : रघुजी पन्त
प्रकाशित मिति
२०७९ माघ २९ गते, आईतवार ०३:५३
२९ माघ २०७९, काठमाडौँ: आज आइतबार प्रतिनिधि सभा बैठकमा समय लिई बोलेका सांसद पन्तले जनताका दु:ख र गुनासालाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने बताए। नेकपा एमालेका सांसद रघुजी पन्तले भीभीआइपीहरू औपचारिक कार्यक्रममा जाँदा जनतालाई अप्ठ्यारो नपर्ने गरी सुरक्षा व्यवस्थापन गर्न माग गरेका छन्। गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा आफू पनि सडकमा यात्रा गरिरहेको उल्लेख गर्दै पन्तले मानिसहरूले गाली गर्न थालेपछि लोगो छोपेको बताए।
‘एम्बुलेन्समा कस्ता बिरामी थिए मलाई थाहा भएन। अलि गम्भीर बिरामी थिए भने त ज्यान नै जान सक्छ,’ पन्तले भने, ‘थुप्रै मानिसले गाली गरिरहेका छन्। मैले लोगो छोप्नुपर्यो, म चढेको बाइकलाई अगाडि बढाऊ भनेर मुखमा मास्क लगाउनुपर्यो किनभने त्यहाँ सांसदलाई पनि गाली गर्न थाले।’

उनले यस्तो प्रणालीको समयानुकूल परिमार्जनको आवश्यकता रहेको बताए। ‘यो गर्ने भनेको सरकारले हो। सरकारले यो नगर्ने अनि राष्ट्रपतिले किन गाली खाने?,’ उनले भने, ‘राष्ट्रपतिजस्तो संस्था किन विवादमा पर्ने? त्यसैले यस विषयमा म अविलम्ब प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछु।’

उनले औपचारिक कार्यक्रममा जाँदा सवारीलाई सहज, सजिलो र जनतालाई अप्ठ्यारो नपर्ने गरी सरकारले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।




प्रतिकृया