२ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार
प्रकाशित मिति
२०७९ माघ २९ गते, आईतवार ०४:३७
२९ माघ २०७९, काठमाडौँ: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको रकममध्येबाट २ खर्ब ४४ अर्बले घटाईएको बताएका हुन् । आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै मन्त्री पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाईएको बताएका हुन् ।
तत्कालीन अर्थमन्त्रीको जर्नादन शर्माले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए भने अब बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड हुने भएको छ। यो पहिलाको बजेटभन्दा २ खर्ब ४४ अर्बले कम हो।
सरकारले जेठमा बजेट ल्याउदा चालु खर्च ११ खर्ब ८३ अर्ब गर्ने भनेकोमा त्यो १० खर्ब २१ अर्ब हुने अपेक्षा गरेको छ। त्यस्तै, पूँजीगत खर्च तीन खर्ब ८० अर्ब विनियोजन भएकोमा तीन खर्ब १३ अर्ब ५० करोड खर्च हुने संशोधित अनुमान छ।

आइतबार प्रतिनिधि सभामा बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार घटाइएको जानकारी दिएका हुन्। पौडेलले चालु आर्थिक वर्ष २०७९/०८० मा मुलुकको आर्थिक वृद्धिदर लक्ष्यअनुसार आठ प्रतिशत नपुग्ने बताएका छन्। उनले कोभिडको समयमा लिइएको सहजीकरणमा समयमै उचित निर्णय लिन नसक्दा अहिले समस्या परेको बताए।

२०७९ पुससम्ममा राजश्वको लक्ष्य ६ खर्ब ५१ अर्ब रहेकोमा सोअनुसार संकलन नभएको उनले बताए।
‘लक्ष्यभन्दा राजश्व २४.८ प्रतिशतले कम संकलन भएको छ,’ उनले भने। आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक राजस्व नकारात्मक वृद्धिदर देखिएको पनि अर्थमन्त्री पौडेलले बताए। राजस्व प्रशासन तथा प्रणालीमा सुधार गर्न पर्ने विगतदेखि नै देखिएको भए पनि यसो हुन नसकेको र आफूले मन्त्रालयको जिम्मेवारीमा आउनासाथ यसलाई उच्च प्राथमिकतामा राखेको पौडेलले बताए।
उनले हाल सार्वजनिक दायित्व व्यहोर्न र ऋणको साँवा-ब्याज भुक्तानी गर्न समस्या परेको बताए। कृषि र पर्यटनमा सुधार हुने देखिए पनि उत्पादनमुलक क्षेत्रमा समस्या देखिएकोले पनि अर्थतन्त्रमा समस्या कायमै रहेको अर्थमन्त्री पौडेलले बताए। यद्यपी अर्थतन्त्रका विभिन्न सूचकमा सुधार भइरहेको उनको भनाइ छ।




प्रतिकृया