• १४ भदौ २०८३, सोमबार
  • ९:२२ बेलुका

रसुवा बाढीले १६ बैंक शाखामा क्षति, राष्ट्र बैंकले सीईओसँग गर्‍यो छलफल

प्रकाशित मिति

२०८३ भाद्र १५ गते, सोमबार ०८:०६

१५ भदौ २०८३ काठमाडौं — रसुवा जिल्लामा आएको विनाशकारी बाढीले बैंक तथा वित्तीय संस्थाको पूर्वाधार, सेवा प्रवाह तथा कर्जा–निक्षेप कारोबारमा पारेको प्रभावबारे नेपाल राष्ट्र बैंकले प्रभावित बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा डेपुटी गभर्नर किरण पण्डित र दीर्घबहादुर रावलले सोमबार प्रभावित बैंकका नेतृत्वसँग प्रत्यक्ष संवाद गरेका हुन्। छलफलमा बाढीपछि बैंक शाखाको अवस्था, कर्मचारीको सुरक्षा, सेवा सञ्चालनको वर्तमान स्थिति तथा प्रभावित क्षेत्रमा बैंकिङ गतिविधि पुनः सुचारु गर्ने उपायबारे जानकारी लिइएको थियो।

Kamana Sewa

नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको नेतृत्वमा सहभागी बैंक प्रतिनिधिहरूले बाढीबाट भएको क्षतिको विवरण राष्ट्र बैंकसमक्ष प्रस्तुत गरेका थिए। छलफलमा प्रभावित १२ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी थिए।

Classic Tech Desktop

बाढीका कारण केरुङ, टिमुरे, स्याफ्रुबेंसी, वेत्रावती, मैलुङ, देविघाट र त्रिशूली क्षेत्रमा सञ्चालित १६ वटा बैंक शाखा कार्यालयमा प्रत्यक्ष क्षति पुगेको छ। कतिपय शाखाका संरचना तथा बैंकिङ सामग्री बाढीले बगाएपछि नियमित सेवा सञ्चालनमा समेत समस्या देखिएको छ।

प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा बैंकहरूको करिब २ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी रहेको छ भने झन्डै ४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। बैंकका भल्टमा रहेको करिब १५ करोड रुपैयाँसमेत बाढीको चपेटामा परेको बताइएको छ।

यस्तै, उक्त क्षेत्रका जलविद्युत् आयोजनामा बैंकिङ क्षेत्रको करिब ७ अर्ब रुपैयाँ लगानी रहेको छ। विपद्पछि निक्षेप व्यवस्थापन, कर्जा असुली तथा नयाँ लगानीमा पर्न सक्ने प्रभावका विषयमा पनि राष्ट्र बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतबीच छलफल भएको थियो।

राष्ट्र बैंकले प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर राख्न वैकल्पिक व्यवस्था, ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उपाय तथा क्षतिग्रस्त शाखाको पुनः सञ्चालनका लागि नियामकीय तहबाट आवश्यक सहजीकरण गर्ने संकेत दिएको छ।

प्रतिकृया