मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो ५० लाख रुपैयाँ
प्रकाशित मिति
२०८३ भाद्र १५ गते, सोमबार ०९:५८
काठमाडौं । मुक्तिनाथ विकास बैंकले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
यही भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशूली र देवीघाटलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीले विशेषगरी रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ।

बैंकले विनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग, समुदायको हित तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




प्रतिकृया