• १५ भदौ २०८३, मंगलबार
  • ७:२६ बिहान

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर ग्यास भरिँदै

प्रकाशित मिति

२०८३ भाद्र १६ गते, मंगलवार ०७:२६

१६ भदौ २०८३ चितवन – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि ग्यास बोकेका बुलेट काठमाडौँ उपत्यका प्रवेश गर्न नसक्दा उपत्यका बाहिरै एलपी ग्यास भर्ने व्यवस्था गरिएको छ। उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले अन्य जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउन थालेका हुन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका तथा आसपासका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाएका छन्।

Kamana Sewa

उनका अनुसार उपत्यका र छिमेकी जिल्लामा देशको कुल ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग रहेको छ।

Classic Tech Desktop

सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्गबाट काठमाडौँ पुर्‍याइने बताए। त्रिभुवन राजपथलगायतका वैकल्पिक सडक प्रयोग गरी ग्यास उपत्यका ल्याइने उनको भनाइ छ।

बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका तथा आसपासका जिल्लामा ग्यास अभाव नहुने भन्दै उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास जगेडा नराख्न आग्रह गरे।

कालाखेतीका अनुसार श्री ग्यासले बाबा ग्यासमा, श्रीकृष्ण ग्यासले साइबाबा ग्यासमा, श्रीराम ग्यासले जानकी ग्यासमा तथा नेपाल ग्यासले नेपाल गण्डकी, एभरेष्ट र सुगम ग्यास उद्योगसँग समन्वय गरी ग्यास भर्न सुरु गरेका छन्। अन्य उद्योगले पनि राजधानी बाहिर रहेका उद्योगसँग सहकार्य गरी ग्यास आपूर्ति व्यवस्थापन थालेका छन्।

प्रतिकृया