• ११ असोज २०८३, आइतबार
  • १२ः२२ राती

आफ्नै गाउँमा करोडौंको लगानी गरेर पशुपालन

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार ०३:५०

२० माघ २०७९, स्याङ्जा : विष्णुप्रसाद पोख्रेलले स्याङ्जाको फेदीखोला गाउँपालिका-१ मट्टिखानका गाउँमै पशुपालन गर्दै आएका छन् । पहिले किराना व्यवसाय सञ्चालन गर्दै आएका उनी अहिले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन् । उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थालेका हुन् । बजारमा किराना पसल सञ्चालनमा रहेको भए पनि गाउँमा भएको जग्गाको सदुपयोग गर्नका लागि पशुपालनमा हात हालेको उनले बताए ।

National Life

‘फेदीखोला बजारमा किराना पसल अहिले पनि छ’, उनले भने, ‘गाउँको जमिन सदुपयोगका साथै बजारमा दूधको माग अत्यधिक रहेकाले पशुपालन सुरु गरेको हुँ ।’ सुरुमा गोठ बनाउने, भैँसी खरिद गर्ने, घाँस, पराल तथा दाना खरिदमै करिब दुई करोड लगानी लागेको उनको भनाइ छ । फार्मबाट प्राप्त आम्दानी तथा लगानी थप गर्दै गाई भैँसी खरिद गरेका हुन् ।


दश भैँसी पालेर व्यावसायिकतातर्फ उन्मुख भएका पोख्रेलको फार्ममा अहिले एक सय ८५ वटा गाई र भैँसी छन् । जसमध्ये एक सय दुहुना भैँसी, ५० वटा राँगा तथा पाडापाडी छन् साथै २० वटा दुहुना गाई र १५ वटा बाच्छाबाच्छी छन् । फार्म पन्ध्र रोपनीमा फैलिएको छ । जग्गा भाडामा लिएर गाई भैँसीका लागि घाँस उत्पादन गरेका छन् भने झण्डै एकसय रोपनी अरुको जग्गा भाडामा लिएर डालेघाँस, खर घाँस तथा उन्नत खालका घाँस लगाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनको फार्मबाट अहिले भैँसीको दूध चार सय लिटर र गाईको दूध एक सय लिटर उत्पादन हुँदै आएको छ । भैँसीको दूध फेदीखोला, मट्टिखान, सेतीदोभान, खड्केटारी, पोखरालगायतका स्थानीय बजारमै खपत हुने गरेको उनले जानकारी दिए ।


‘दूधको बजारका लागि कुनै समस्या छैन बरु स्थानीय बजारमा माग भएअनुसार दूध पुर्‍याउन सकिएको छैन्’, उनले भने, ‘दूधको माग धान्न पनि अझै ४० वटा गाई थप्ने तयारी गरिरहेको छु ।’ भैँसीको दूध स्थानीय बजारमा खपत हुने गरेको छ भने गाईको दूध पोखरा औद्योगिक क्षेत्रमा दिएको उनको भनाइ छ । दूध बिक्रीबाट अहिले मासिक १५ लाख आम्दानी हुने गरेको छ ।


सुरुका वर्ष भएकाले गाईभैँसी खरिद, दानापानी, परालमा किन्नुका साथै पूर्वाधार निर्माण गर्नुपरेकाले त्यसैमा लगानी गरेको उनले बताए । फार्ममा हाल १३ जना कार्यरत छन् । ‘यहाँ उत्पादन भएको दूध बजारमा पूरै खपत भएकाले पनि दूधबाहेक अन्य सामग्री बनाएर बिक्री गर्ने तत्काल कुनै योजना छैन्’, उनले भने । पशुपालनलाई व्यावसायिकरूपमा अगाडि बढाउँदै जाँदा बजारको कुनै समस्या नभएपछि थप ऊर्जा र जाँगर थपिँदै गएको महशुस गरेका छन् ।

प्रतिकृया