भिजिट भिसामा काम गर्न दुबई पुगेकी युवतीलाई कुवेत पुर्याएर ५ लाखमा बिक्री
प्रकाशित मिति
२०७९ माघ २० गते, शुक्रबार ०३:३१
२० माघ २०७९, काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरीलाई कुवेत पुर्याएर बेचिएको छ। बेचबिखनमा संलग्न १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेकाे खुलेको छ। बेचबिखनमा संलग्न दुई जना पक्राउ परेका छन् । कुवेतमा पुर्याई श्रम शोषण गरेको र यौनशोषणमा परेको सूचनापछि कुवेतस्थित नेपाली दूतावासले उनलाई उद्धार गरी नेपाल फिर्ता पठाएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने, ‘उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको उद्धारको प्रयास भइरहेको छ। गत मंसिर २६ गते भिजिट भिसाबाट दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पुर्याई जनही कम्तीमा पाँच लाखमा बिक्री गरिएको खुलेको छ । घटनाबारेमा थप अनुसन्धान गरिरहेका छौँ ।’
मानव बेचबिखनमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका–२ का लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ का डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको छ ।








प्रतिकृया