• २०:५६ २०८० चैत्र १६ गते
  • 8:56 pm

दाम्राङ पोखरीः पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

प्रकाशित मिति

२०७९ माघ १२ गते, बिहीबार ११:३६

damrang

१२ माघ २०७९, लमजुङ : दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आर्थिक स्रोतसँग जोड्न पालिकाको वडा नंं ४ मा रहेको सो पोखरीको संरक्षण गर्न थालेको हो ।


समुद्र सतहबाट एक हजार नौ सय ३५ मिटरको उचाइमा रहेको पोखरी संरक्षणका लागि चालू आर्थिक वर्षमा रु २६ लाख विनियोजन गरेर मर्मतसम्हार गरिएको हो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सो पोखरीको वरिपरि ढुङ्गा बिच्छ्याउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । पोखरीको वरिपरि छ मिटरदेखि १० मिटरसम्म ढुङ्गा बिच्छ्याउने काम भइरहेको छ । पोखरीको ७३ मिटर लम्बाइ र ६४ मिटर चौडाइ छ ।


गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङका अनुसार सो पोखरी नजिकै चार वनभोजस्थलसमेत निर्माण गरिँदैछन् । चारवटै स्थानमा शौचालयको निर्माण कार्य भने पूरा भएको छ । यहाँ खानेपानीको धारा व्यवस्थित गर्न लागिएको छ । दाम्राङ पोखरी क्षेत्र भेँडीगोठ उपयुक्त क्षेत्रको रुपमा छ । यस क्षेत्रमा आठ भेँडीगोठ छन् । यहाँ आउने पर्यटक यस पोखरी तथा क्षेत्रमा रमाउनुका साथै भेँडासँग समेत रमाउन चाहने पर्यटकका लागि झन आकर्षणको स्थल हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ । पर्यटकीय गन्तव्यको रुपमा यस ठाउँको विकासलाई आगामी दिनमा पनि निरन्तर दिने भएको छ ।


यहाँ पर्यटकको प्रचुर सम्भावना रहेकाले यसको संरक्षण गर्दै पर्यटक आकर्षित गर्न गाउँपालिका लागि पर्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताए । उनका अनुसार केही वर्षअघि यस पोखरीलाई सडक सञ्जालमा जोड्नका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं (क) अन्तर्गत दोर्दी गाउँपालिका–४ ठूलाखेत–कामचोक–डाम्राङ–लिपे पर्यटन सडक निर्माण गरेको थियो । तत्कालीन गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत यस क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा विकास गर्नका लागि रु २५ लाखमा चार किलोमिटर आठ मिटर लम्बाइ र छ मिटर चौडाइको सो सडक उक्त पोखरीसम्म निर्माण गरेको थियो ।


त्यस्तै, प्रदेश सरकारकै आर्थिक सहयोगमा पोखरी नजिकै दाम्राङ हरित पार्क निर्माण गरेको छ । प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय लमजुङको रु पाँच लाख बजेटबाट पार्क निर्माण भएको बताइएको छ ।


यस पार्कभित्र ढुङ्गाको सिँढी निर्माण, दुई सय ८५ मिटरको कम्पाउन तारजालीले घेर्ने, विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको थियो । यहाँ दाम्राङ पोखरीबाहेक यस क्षेत्रमा कुनै पानीको स्रोत नभएकाले यस जङ्गलका सबै जनावारले यसै पोखरीमा पानी खानका लागि आउने गर्दछन् । यस दाम्राङ पोखरी हुँदै एतिहासिक तथा पर्यटकीयस्थल लिपे, दूधपोखरी हुँदै गोरखासमेत निस्कन सक्ने स्थानीयको भनाइ छ । संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको यस क्षेत्रका लागि विस्तारै सरकारको ध्यान केन्द्रित हुन थालेपछि पर्यटक आगमन हुने स्थानीयले अपेक्षा गरेका छन् । उहिल्यै यस पोखरीमा ‘दामे’ भन्ने गोठाले डुबेर ‘रा’ पोखरीमा मरेको हुँदा दामेराभन्दा भन्दै अपभ्रस भई दाम्राङ पोखरी भएको भन्ने किंवदन्ती रहेको छ ।


गुरुङ भाषामा पोखरीलाई ‘रा’ भनिन्छ । यस पोखरी क्षेत्रबाट बौद्ध हिमाल, हर्क पिक, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुछ्रे हिमाल चुली, मनास्लुलगायतको हिमाल देख्न सकिन्छ । गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार उक्त पोखरीदेखि १५ मिनेटको दूरीमा रहेको एउटा ८०/८२ मिटर लम्बाइ भएको गुफा पनि हेर्न सकिन्छ । यस वडाकै धौथलीदेखि लिपेसम्म एक हजार पाँच सय मिटर पदमार्गसमेत निर्माण भइसकेको छ ।


यस चक्रीय पदमार्ग २३ किलोमिटर रहेको र हालसम्म १५ किलोमिटर पदमार्ग निर्माण भइसकेको बताइएको छ । प्रदेश सरकारले यस पदमार्ग निर्माणका लागि हालसम्म रु ९० लाख बजेट खर्च गरिसकेको छ । यस्ता पर्यटकीय र ऐतिहासिकस्थल एवं क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिका अघि बढेको छ । रासस

प्रतिकृया