छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
प्रकाशित मिति
२०७९ माघ ८ गते, आईतवार ०५:२६
८ माघ, २०७९, काठमाडौँ: सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ झुप्राखोलामा बा.प्र.०१०२६ च ९२१३ नम्बरको हाईलेक्स गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ८० मिटर तल खसेर गएराति दुर्घटना हुँदा गाडीका चालक सोही नगरपालिका-७ बस्ने २७ वर्षीय सागर शाहीसहित ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रामेछाप, उमाकुण्ड गाउँपालिका-७ रुनामा बा.११ च ५९३५ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी ५० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक ओखलढुङगा सिद्धिचरण नगरपालिका-७ ज्यामिरे बस्ने ३५ वर्षीय नारायण बहादुर मगरको घटनास्थलमै मृत्यु भएको छ ।

रौतहट, चन्द्रपुर नगरपालिका-१ नुनथर बगरमा बा.२ क ८३६ नम्बरको बसको ठक्करबाट धनुषा जनकपुर उपमहानगरपालिका-४ बस्ने ५५ वर्षीय नागेन्द्र साहको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएक हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका-९ महालक्ष्मीमा बागमती प्रदेश ०२-०४० प १३२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची घर भई ललितपुर महानगरपालिका-२ ईमाडोल बस्ने २३ वर्षीय शिशिर भुसालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिकृया