प्रधानमन्त्रीकप महिला क्रिकेट: प्रदेश १ लगातार तेस्रो जितसहित सेमिफाइनलमा
प्रकाशित मिति
२०७९ माघ ३ गते, मंगलवार ०१:५९
३ माघ २०७९,काठमाडाैं : इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर एकले अन्तिम चारमा स्थान पक्का गरेको छ। मंगलबार भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
ओसिलो मैदानका कारण निर्धारित समय भन्दा ढिला सुरु भएको खेललाई ११ ओभरमा घटाइएको थियो। जहाँ कर्णाली प्रदेशले पहिले ब्याटिङ गर्दै प्रदेश १ समक्ष ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य प्रदेश १ ले ४.५ ओभरमा बिना विकेटको क्षतिमा ४० रन बनाएर पुरा गरेको थियो।
प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २२ रन जोड्दा काजल श्रेष्ठ १३ रनमा अविजित रहिन्। त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ११ ओभरमा ५ विकेट गुमाएर ३९ रन जोडेको थियो। कर्णालीका लागि रमा बुढाथोकीले १८ रन जोड्दा। अन्य खेलाडीले दोहोरो अङ्कको स्कोर तयार गर्न सकेनन्।
प्रदेश १ का लागि ज्योति दनुवार, रुविना क्षेत्री, संगीता राई र काजोल राजवंशीले समान १-१ विकेट हात पारेका थिए। जितसँगै समूह ‘बी’को शीर्ष स्थानमा रहेको प्रदेश-१ ले ३ खेलमा ६ अंक जोडेको छ। कर्णाली ३ खेलमा अंकविहीन रहँदै पुछारमा रहेको छ।








प्रतिकृया