पशुपतिशमशेर जबराकाे शपथ आज, भाेलि उनले अन्य सांसद्लाई सपथ दिने
प्रकाशित मिति
२०७९ पुष ६ गते, बुधबार ०८:४८
६ पुष, २०७९, काठमाडौँ: प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर जबराले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनले आज राष्ट्रपति भवन शीतल निवासमा दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने कार्यक्रम रहेकाे जनाइएकाे छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ। सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ दिलाउनुपर्छ।

सो व्यवस्थाअनुरूप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई भोलि दिउँसो १ बजे शपथ गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

नागरिकताअनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मंसिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।
नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ।
हालै सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
प्रनिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ। प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
नागरिकतामा उल्लेख भए अनुसार ८१ वर्ष भएका जबराको विक्रम संवत १९९८ मंसिर २४ गते जन्म भएको थियो। सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव नागरिकतामा ८५ वर्ष पुगेपनि नागरिकतामा आफ्नो जन्ममितिमा त्रुटि भएको उल्लेख गर्दै २०७४ सालमा पनि नवनिर्वाचित सांसदहरूलाई सपथ ग्रहण गराउने कार्यक्रममा अनुपस्थित भएका थिए।
यादव अहिले पनि नआउने भएपछि नेता जबराबाट नै ज्येष्ठ सदस्यको रूपमा सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको पनि संघीय संसद सचिवालयले स्पष्ट पारेको छ।




प्रतिकृया