नेपालको मौसममा जम्मु कस्मिरको न्यूनचापीय प्रणालीको प्रभाव
प्रकाशित मिति
२०७९ पुष ६ गते, बुधबार ०८:४३

६ पुष, २०७९, काठमाडौँ: नेपालको मौसमी प्रणालीमा हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्नेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो रहेको छ ।
आज दिउँसो प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
विभागले आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । मौसमविद् मञ्जु वासीका अनुसार आज वर्षा र हिमपातको भने सम्भावना छैन ।
तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।
प्रतिकृया