• १७:०७ २०८० चैत्र १६ गते
  • 5:07 pm

बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग

प्रकाशित मिति

२०७९ मंसिर २३ गते, शुक्रबार ०६:४०

Besar

२३ मंसिर २०७९, काठमाडौँ : जापान सरकारले प्युठानमा बेसार प्रसोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ । जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी) अन्तर्गत एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ । प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो ।


प्रशोधन केन्द्र निर्माण तथा कृषि उपकरण सहयोगका लागि आज जापानिज दूतावासमा आयोजित एक कार्यक्रममा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताका र स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालले हस्ताक्षर गरेका छन् । सो अवसरमा राजदूत युताकाले प्रशोधन केन्द्र र कृषि उपकरणका लागि प्रदान गरिने सहयोगमार्फत ग्रामीण कृषि उत्पादन प्रवर्द्धनमा परियोजनाले सहयोग पुग्ने भन्दै उपकरणको भविष्यमा समेत भरपुर उपयोग हुने विश्वास व्यक्त गरे । उनले यो परियोजना उद्योग प्रवर्द्धनका लागि मात्र नभई नेपाल र जापानबीचको मैत्री सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने उल्लेख गरे ।


बेसार प्रशोधन केन्द्र निर्माण गरेर प्यूठान नगरपालिका र त्यहाँका सहकारीमार्फत समुदायलाई हस्तान्तरण गरिने योजना रहेको स्वयंसेवी समूहका अध्यक्ष रिमालले बताए । परियोजनाले कृषकको आम्दानी र पेसाप्रति प्रोत्साहन गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे । यो परियोजनाले बेसारको उत्पादन, प्रशोधन र व्यावसायिकरणका लागि कृषि उपकरण तथा प्रशोधन केन्द्र स्थापनाका लागि सघाउने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ । परियोजनाको व्यवस्थापन प्युठान नगरपालिका(८ का स्थानीय किसान र स्वयंसेवी नेपाल राष्ट्रिय समूहले गर्ने दूतावासले जनाएको छ । बेसारको बजारीकरण गर्न नसक्दा नेपाली किसानले मनग्य आम्दानी गर्न सकिरहेका छैनन् ।


परियोजनाले बेसार उत्पादनको मात्रा बढाउनुका साथै जिल्लाका किसानको जीविकोपार्जनमा सुधार ल्याउने जापानी दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ । नेपालमा बेसार खेती राम्रो हुने जिल्लाहरूमा सल्यान, जाजरकोट, प्युठान, दैलेखलगायत पर्छन् । उत्पादित सामग्रीको प्रशोधन र व्यवस्थित बजारको अभावमा व्यावसायिक लाभ लिन नसकिएको जनाइएको छ । परियोजनाअन्तर्गत बेसार उत्पादनमा प्रत्यक्षरूपमा कृषकलाई संलग्न गराई बजार पहुँच विस्तार गर्ने कार्यमा पनि आवश्यक सहयोग गरिने जनाइएको छ ।

प्रतिकृया