उत्तरी सीमा नाकाहरू दसैँ अगाडि नै खुल्छ : निर्देशक पौडेल
प्रकाशित मिति
२०७९ भाद्र २८ गते, मंगलवार ०७:४०
२८ भाद्र २०७९, काठमाडौँ : भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरू दसैँ अगाडि नै खुल्ने बताएका छन् । मंगलबार समितिको कार्यालयमा भएको वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक पौडेलले चीन पक्षहरूसँग छलफल गरेर दसैँ अगाडि नै नाका खोल्ने तयारी भएको बताएका हुन् । उत्तरी नाकामा नेपालको कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उनको भनाइ छ । निर्देशक पौडेलले अहिले दुवै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाइ गरे चीन सीमा खुला गर्ने पक्षमा रहेको बताए ।
उनले भने,‘ उत्तरी सीमा नाकाको विषयमा दुई पक्षबीचको बैठकमा स्वास्थ्य मापदण्डका कारण बन्द गरिएको बताएका छन् । कोभिड शून्य नीतिमा तल माथि गर्न सक्दैनौँ । चीन पक्ष नेपालको कोभिड सम्बन्धी मापदण्ड चीनको भन्दा कमजोर रहेको भन्ने रूपमा प्रस्तुत हुन्छन् । चीन पक्षले परराष्ट्र मन्त्रालय वा वाणिज्य मन्त्रालयको बैठकमा एउटै विषय उठाउने गरेका छन् । तर अहिले नेपालको स्वास्थ्य मापदण्डलाई हेरेर नाका खुला गर्ने तयारी भएको छ । दसैँ अगाडि नाका खुल्छ ।’ त्यस्तै, नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रामचन्द्र पराजुलीले सरकारले तत्काल उत्तरी सीमा नाकामा रोकिएको सामान ल्याउन पहल गर्न माग गरे । उनले राजश्व परामर्श समितिलाई लिखित रूपमा नै सुझाव सहित माग पेस गरेको बताए ।
सचिव पराजुलीले चिनियाँ नाका बन्द हुँदा नेपालीहरूको महान् पर्व दसैँको लागि खरिद गरेर ल्याएका सामान नाकामा नै रोकिएको बताए । उनले दसैँमा पनि नाका खुला हुन नसके र सामान आउन नसके व्यापारीहरू पलायन हुने अवस्था आउन सक्ने जिकिर गरे । उनले भने, ‘चीनबाट नेपाली व्यवसायीहरूले खरिद गरेर ल्याएका सामानहरू उत्तरी नाकाका विभिन्न स्थानहरूमा आएर रोकिएको छ । लासा, सिगात्से, केरुङ र खासा लगायतका नाकाहरूमा सामानहरू रोकिएको छ । त्यो सामान दसैँमा पनि आएन भने व्यवसायीहरूलाई व्यापार गर्न गाह्रो छ ।
अहिले व्यवसायीहरूले राष्ट्र बैंकले कर्जामा कडाइ गर्दा व्यवसायीहरूले कर्जा पाएका छैनन् । व्यवसायीहरूले महँगो ब्याजदरमा ऋण लिएर चीनका विभिन्न सहरहरूबाट सामान खरिद गरेर ल्याउने र नेपालमा व्यापार गर्ने र सरकारलाई कर तिर्ने गरेका छन् । तर अहिले समयमा नै सामान नआउँदा व्यवसायीहरूले आत्महत्या समेत गर्न थालेको र व्यवसायीहरू पलायन हुन थालेका छन् । त्यसैले सरकारले सहजरुपमा व्यापार गर्ने वातावरण बनाउनु पर्छ ।








प्रतिकृया