• २ असोज २०८३, शुक्रबार
  • ७ः२१ बेलुका

सीसीटीभी फूटेजबारे बोलेनन् अर्थमन्त्री शर्मा

प्रकाशित मिति

२०७९ श्रावण १५ गते, आईतवार ०७:५३

१५ साउन २०७९, काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आइतबार अपराह्न पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर शर्माले पदभार ग्रहण गरेका हुन् । पदभारपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले नयाँ बजेट कार्यान्वयनको चरणमा रहेको भन्दै बजेटको मूल उद्देश्य आयात कम प्रतिस्थापन, उत्पादन वृद्धि गर्नु र वैदेशिक मुद्राको सञ्चितलाई बढाउनु रहेको बताए । उनले बजेट कार्यान्वयन गर्ने अवसर प्राप्त भएकोमा सबै राजनीतिक दलहरूलाई धन्यवाद दिए।

National Life

मन्त्री शर्माले मन्त्रालयका सचिव र सबै कर्मचारीहरू मिलेर एक वर्ष मन्त्रालयलाई सौहार्दपूर्ण ढङ्गले अघि बढाएको र अबका दिनमा पनि त्यस्तै सुमधुर र उचित कार्य विभाजन सहित सहकार्य गर्ने बताए। उनले गत वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर भएका कमी कमजोरीलाई हटाउनेमा ध्यान केन्द्रित गर्ने धारणा राखे। मन्त्रालयले आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका शर्माले आफूमाथि लागेको आरोप र संसदीय छानबिन समितिले गरेको छानबिनबारे भने केही पनि बोलेनन्।


शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार नै राष्ट्रपति भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेका थिए । बजेट भाषणको अघिल्लो रात अनधिकृत व्यक्तिहरूलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा तानिएका शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिसहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । संसदीय समितिको छानबिन सकिएपछि शर्मालाई प्रधानमन्त्रीले पुनर्नियुक्ति गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया