• १ असोज २०८३, बिहीबार
  • १०ः०९ बिहान

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नाट्टाको आग्रह

प्रकाशित मिति

२०७९ जेष्ठ २५ गते, बुधबार ०८:३४

२५ जेठ २०७९, काठमाडौँ : नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुउत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो ।

National Life

नाट्टाले कोरोना महामारीबाट आक्रान्त पर्यटन व्यवसाय थोरै चलायमान हुन लागेको अवस्थामा हालै राष्ट्र बैंकले पुनःकर्जा कार्यविधिमा गरेको परिवर्तनले असाध्यै अप्ठ्यारो परिस्थिति उत्पन्न भएको उल्लेख गर्दै पर्यटन क्षेत्रलाई पुनरुउत्थान गर्नका लागि पुनःकर्जाको व्यवस्थालाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने माग अघि सारेको छ । यस्तै पर्यटन क्षेत्रका व्यवसायीले कोरोनाका कारण बैंकबाट लिएको ऋणको किस्ता समयमा बुझाउन नसकेको भन्दै विलम्ब शुल्क नलाग्ने गरी भुक्तानीको वातावरण निर्माण गर्नुपर्ने, पर्यटन क्षेत्रलाई पनि निर्यात व्यवसायीले पाएजस्तो ‘क्यास व्याक इन्सेन्टिभ’ दिइने व्यवस्था प्रदान गर्न आग्रह गरेको छ ।


नाट्टाले कोरोनाबाट अति प्रभावित क्षेत्र पर्यटनलाई सहजरूपमा ऋण प्रवाहको व्यवस्था गर्नुपर्ने, पर्यटन व्यवसायीलाई कम्पनी दर्ता प्रमाणपत्र कर चुक्ताको प्रमाणपत्रका आधारमा बैंक ग्यारेन्टीको धितो राखेर रु २० लाखसम्म सहुलियत ऋण प्रवाह गर्नुपर्ने, टुर गाइड, ट्रेकिङ गाइड, र्‍याफ्टिङ गाइड, पर्वतारोहण गाइडलगायत सरकारले प्रदान गरेको प्रमाणपत्र जमानी राखेर रु १० लाखसम्म सहजरूपमा सहुलियत ऋण प्रवाह गर्न माग गरेको छ । यसैगरी विदेश भ्रमणका लागि टुर प्याकेज खरिद गर्दा दिने भुक्तानी सेवा बढाउनुपर्ने, राष्ट्र बैंकको डलर इजाजत र पर्यटन विभागबाट जारी हुने इजाजतको नवीकरण गर्ने समयमा एकरुपता ल्याउनुपर्नेलगायत मागसमेत नाट्टाको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया