पोखरा महानगरपालिकाको मतगणना रोकियो, एमालेका प्रतिनिधि मतगणनास्थलमा अनुपस्थित
प्रकाशित मिति
२०७९ जेष्ठ १० गते, मंगलवार ०३:३८
१० जेठ २०७९, काठमाण्डौं : पोखरा महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना अन्तिम चरणमा पुगेको बेला एमालेले धाँधलीको आरोप लगाउँदै विवाद निकालेपछि मतगणना रोकिएको हो । मतगणनास्थलमा अहिले एमालेका प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पोखरा महानगरपालिका वडा नम्बर २२, ३२ र ३३ को मतगणना कार्य रोकिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणना स्थलमा उपस्थित भई मतगणना कार्य सुचारु गर्न सहयोग गर्न अनुरोध गरेको छ ।

यसअघि एमालेले वडा नम्बर १८ र ३१ को मतपेटिकामा मुचुल्का तयार गरिएको भन्दा कम मतपत्र पाइएको भन्दै पुनः मतगणनाको माग गर्दै निवेदन दिएको थियो । सो माग सम्बोधन नभएसम्म मतगणना हुन नसक्ने एमालेको अडान छ ।

पोखरामा मतगणना अन्तिम चरणमा पुग्दा एकीकृत समाजवादी पार्टीका उम्मेदवार धनराज आचार्य विजयी भइसकेका छन् । गन्न बाँकी मत भन्दा उनको मतान्तर धेरै भएपछि विजयी भएका हुन् ।




प्रतिकृया