त्रिकोणात्मक टी–२० क्रिकेटः आजको खेलमा पनि पीएनजी पराजित
प्रकाशित मिति
२०७८ चैत्र १५ गते, मंगलवार ०६:२३
१५ चैत्र २०७८, काठमाडौँ : काठमाडौँमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेटअन्तर्गत मंगलबारको खेलमा पनि पपुवा न्यूगिनी (पीएनजी) पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले पीएनजीलाई ९ रनले पराजित गरेको हो ।
यसअघि, सोमबार भएको खेलमा पीएनजी नेपालसँग पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो । जवाफमा पीएनजी १९ ओभर ३ ओभरमा अलआउट हुँदै १ सय ७२ रन मात्र बनाउन सक्यो ।
मलेसियाका लागि ओपनर भिरनदिप सिंहले ५९ रन, कप्तान अहमद फैजले ५६ रन र साइद अजिज ४७ रन बनाएका थिए । पीएनजीका लागि नोर्मान भनुवाले दुई विकेट लिएका थिए । १ सय ८१ रनको चुनौती पाएको पीएनजीका लागि टोनी उराको ५६ रन, नोर्मान भनुवाले ४५ रन, असाद भालाले ११ र सिमोन अटाइको १७ रन बनाएका थिए ।
मलेसियाका लागि सर्भीन मुनिएन्डीले ४ विकेट, महमद वाफीक र पवनदिप सिंहले ३–३ विकेट लिएका थिए । काठमाडौँमा नेपाल, मलेसिया र पीएनजीबीच त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट भइरहेको हो ।








प्रतिकृया