• 11:14 pm

यमनको अडेननजिकै कार बम विष्फोट हुँदा वरिष्ठ अधिकारीसहित पाँच सैनिकको मृत्यु

प्रकाशित मिति

March 24, 2022

१० चैत २०७८, काठमाडौं : दक्षिणी सहर एडेननजिकै बुधवार भएको बम आक्रमणमा परी एक वरिष्ठ सेना अधिकारीसहित पाँच यमनी सैनिक मारिएका अधिकारीहरुले जनाएका छन् । एडेनबाट १० किलोमिटर उत्तरमा रहेको अल–मदिना अल–खाद्रा गाउँ हुँदै यात्रा गर्दा ‘कार बम’ विस्फोटमा मेजर जनरल थाबेट जावस र चार सैनिकको मृत्यु भएको एक सुरक्षा अधिकारीले एएफपीलाई बताएका छन् ।


एक स्थानीय अधिकारीले आक्रमण र मृत्यु हुनेको संख्या पुष्टि गरेका छन् । यस आक्रमणको कुनै पनि समूहले तत्काल जिम्मेवारी लिएको छैन । जावासलाई सन् २०१४ मा देशको गृहयुद्ध सुरु भएदेखि यमनका इरान समर्थित हुथी विद्रोहीसँग लड्ने प्रमुख कमाण्डरमध्ये एक मानिन्थ्यो ।


यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार सन् २०१४ को अन्त्यमा राजधानी सानाबाट अडेनमा सारिएको थियो । हुथीहरूले जबरजस्ती बाहिर निकालेका थिए । साउदी नेतृत्वको सैन्य गठबन्धनले सरकारको समर्थनमा हस्तक्षेप गरेको मार्च २६ मा भएको सातौं वर्षगाँठको केही दिनअघि बम आक्रमण भएको थियो ।


यमनको दक्षिण शहर एडेनमा प्रायः कारबम वा क्षेप्यास्त्र आक्रमण भएको पाइन्छ । यस आक्रमणमा अधिकारीहरूले विद्रोहीहरूलाई दोष दिन्छन् । एडेन, पृथकतावादी आन्दोलनको घर पनि हो । इस्लामिक स्टेट समूहले दाबी गरेको धेरै आक्रमणहरूको एडेनलाई लक्ष्य गरिएको छ ।


गत वर्ष अक्टोबरमा एडेनका गभर्नरलाई लक्षित गरी कार बम आक्रमणमा ६ जनाको मृत्यु भएको थियो । गभर्नर अहमद लामलास र सरकारी मन्त्री सलेम अल–सोकोत्री दुवै विस्फोटबाट जोगिएका थिए । उनीहरूको काफिले जाने क्रममा सो विस्फोट भएको जनाइएको थियो ।


यसै महिनापछि, एडेनको एयरपोर्टनजिकै कार बम विस्फोटमा परी बालबालिकासहित कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको थियो । त्यो विस्फोट डिसेम्बर २०२० पछिको सबैभन्दा घातक थियो । एडेनको एयरपोर्टमा क्याबिनेट सदस्यहरूलाई लक्षित गरी विस्फोट गराइएको थियो ।


मन्त्रीहरू विमानबाट ओर्लने क्रममा भएको विष्फोटमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिका तीन सदस्यसहित कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । करिब तीन करोड जनसंख्या भएको यमनको लगभग ८० प्रतिशत जनसंख्या बाँच्नको लागि सहायतामा निर्भर छ । वर्षौंको द्वन्द्वपछि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तीन लाख ८० हजार मानिसहरूको ज्यान गएको छ।


बारम्बार कूटनीतिक प्रयास गर्दा पनि दुवै पक्ष शान्ति सम्झौतामा सहमत हुन असफल भएका छन् । हुथी विद्रोहीले वार्ता अस्वीकार गरे पनि छ राष्ट्रको खाडी सहयोग परिषद्ले यस महिनाको सुरुमा यमनका युद्धरत पक्षहरूबीच साउदी अरेबियामा अर्को हप्ता सुरु हुने वार्ता आयोजना गर्न खोजेको बताएको थियो ।–एएफपी

प्रतिकृया