भैरबी आधारभूत विद्यालयको आफ्नै सुविधा सम्पन्न भवन उद्घाटन
प्रकाशित मिति
२०७८ चैत्र २ गते, बुधबार ०६:५९
२ चैत २०७८, भक्तपुर : भैरबि आधारभूत विद्यालयको सुविधा सम्मपन्न भवन निर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा भक्तपुरको ६९ लाख ६९ हजार ६ सय रुपियाँको लागदमा करिब दुई वर्ष अवधिमा विद्यालयको भवन निर्माण सम्पन्न भएको हो । चार कोठे पक्की भवनको बुधबार पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले उद्घाटन गरेको हो । भवनको उद्घाटन गर्दै सांसद बस्नेतले भैरबि आधारभूत विद्यालय नमूना बन्दै गएकाले प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्नमा सबै शिक्षक तथा शिक्षिकालाई निर्देशन दिए ।
सामुदायिक विद्यालयलाई नै प्रतिस्पर्धी बनाएर जानुपर्ने आवश्यकता औंल्याउँदै उनले सो कार्य भैरबि आधारभूत विद्यालयबाट शुरु भएको बताए । बागमती प्रदेश सभा सदस्य शशीजंग थापाले शैरबि आधारभूत विद्यालयले समग्र नगरपालिकाकै सामुदायिक विद्यालयलाई अनुशरण गर्न योग्य काम गरेको जनाए । जिल्ला समन्वय समितिका भक्तपुरका उपप्रमुख सरिता कुँवरले भैरबी आधारभूत विद्यालय शैक्षिक र भौतिक गुणस्तरमा उल्लेख्य सुधार गरेको बताए ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले भैरबिले गरेको उपलब्धिले अन्य विद्यालयलाई पनि सिकाइ गर्ने आधार बनेको बताए । सूर्यविनायक नगरपालिका वडा नंं ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले स्थानीय तहको निर्वाचन अगाडि बन्द प्राय हुन लागेको भैरबि आधारभूत विद्यालयलाई अहिले नमूना विद्यालयको रुपमा स्थापित गर्न सकिएको जनाएका छन् । भैरबी जस्तै सूर्यविनायक नगरपालिका वडा नंं ७ मा रहेका ज्योति मावि, चन्द्रसूर्योदय लगायतका विद्यालयको पनि गुणात्मक र संख्यात्मक सुधार भएको जनाए । सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले नगरपालिकामा भएको अन्य विद्यालयले पनि भैरबि आधारभूत विद्यालय जस्तै प्रगति गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक गौरि सिंह बस्नेत, सुशिलचन्द्र न्यौपाने, कृष्णमुरारी शर्मा र अनिरुद्र थापालाई सम्मान गरिएको थियो । साथै सबै जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन खतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले विद्यालयको समग्र प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो भने कार्यक्रममा समाजसेवी, बुद्धिजिवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
२०३६ सालमा स्थापना भएको भैरबि आधारभूत विद्यालय विभिन्न आरोह र अवरोह झल्दै अहिले आधुनिक प्रविधिमैत्री गुणस्तरीय शिक्षा दिन सफल भएको छ । स्थानीय तहको निर्वाचन अगाडि नगन्य मात्रामा विद्यार्थी भएकोमा अहिले १९८ जना विद्यार्थी विद्यालयमा अध्ययनरत रहेका छन् । विद्यालयमा कक्षा ७ सम्म अध्ययान हुँदै आएको छ ।





प्रतिकृया