• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

जीवनको अन्धकारबाट उज्यालो यात्रा मार्ग निर्देशनक गुरु

प्रकाशित मिति

२०७८ फाल्गुन २९ गते, आईतवार ०८:४५

गुरु उड्यो भने शिष्य दौडन्छ,
गुरु दौडियो भने शिष्य हिड्छ,
गुरु हिड्यो भने शिष्य बस्छ,
गुरु बस्यो भने शिष्य सुत्छ,
गुरु सुत्यो भने शिष्य मर्छ …

अतः जीवनमा गुरु हुनु आवश्यक, अनिवार्य र अपरिहार्य छ ।


गुरुको बारेमा ओशो भन्छन्, ‘गुरुले माटोमुनि पुरिएर रहेको बिउलाई अंकुरित गराएर फल दिने वृक्ष बनाइदिन्छन्।’
आन्तरिक ज्ञान अर्थात् अध्यात्म यात्रामा मार्ग निर्देशन गर्न गुरुको आवश्यकता पर्छ। गुरु अर्थात् जीवनको अन्धकारबाट उज्यालो यात्राको मार्ग निर्देशनक।

Kamana Sewa

संसारको ज्ञान, सुख, खुसी, सम्पन्नता कुनै कारणवश मिल्छ। जुन मिल्दा खुसी र नमिल्दा गुनासो अनि दुःख व्यक्त हुन्छ। बाहिरी सुख, सफलता क्षणभंगुर हुन्छन्। प्रेम, सुख, शान्ति बाहिरबाट अरुले दिने हो भन्ने भ्रम हुन्छ। केही गरी एउटा प्राप्त गर्नासाथ अर्कोको चाहना हुन्छ। मृगतृष्णारूपी चाहनाले सन्तुष्टि कहिल्यै मिल्दैन। जब दिव्य ज्ञान प्राप्त हुन्छ, तब व्यक्ति अकारण आनन्द, शान्ति, प्रफुल्लता र प्रशन्नताको अनुभूति गर्न थाल्छ। ऊ सानो कुरामा पनि खुसी हुन्छ, प्रकृति, अस्तित्व, सृष्टिका सबै संरचना र उपहारबाट खुसी हुन थाल्छ। व्यक्तिमा दिव्य प्रेमको विकास हुन थाल्छ।

Classic Tech Desktop

केही पाएर प्रेमको अनुभव गर्ने होइन कि केही दिनमा आनन्द मान्ने हुन्छ। आफ्नो भएर र आफ्नो सन्तुष्टि मिलेर प्रेम जाग्ने होइन, सृष्टिका हरेक सिर्जनाप्रति प्रेम बस्न थाल्छ। यो दिव्य प्रेममा आफूले आफैंलाई प्रेम गर्न जानेपछि व्यक्ति मोक्ष प्राप्ति, ब्रह्मज्ञानमा समेत उपलब्ध हुन सक्छ। यसका लागि सांसारिक ज्ञान र आत्मज्ञान के हो छुट्ट्याउन सक्नुपर्छ । संसारसँगै अध्यात्म, आन्तरिक शान्ति, सम्पन्नता र आनन्द के हो, त्यो ज्ञानलाई पहिचान गराउन गुरु आवश्यक हुन्छ।


गुरु ती व्यक्ति हुन्, जसले धेरै अन्योल र अज्ञानतामा रुमलिएको व्यक्तिलाई ज्ञानको ढोका खोल्ने चाबी प्रदान गर्छन्। गुरु त्यो आकर्षण हुन्, जब शिष्य गुरुको नजिक हुन थाल्छ, तब बिस्तारैबिस्तारै स्वयंसँग पनि नजिक हुन थाल्छन्। गुरु भेट्नुअघि व्यक्ति बहिर्मुखी हुन्छ, बाहिर–बाहिर अरूसँग नजिक हुन खोज्छ, जब गुरु भेट्छ, तब ऊ स्वयंभित्र अरूलाई होइन, आफूलाई खोज्न थाल्छ।


गुरु कृष्ण हुन्.. बुद्ध हुन्.. यो बाटो देखाउने, सत्य र असत्यको भेद बुझाउने, यो आनन्दमयी अमृत रसपान गराउने सम्पूर्ण गुरु हुन् । गुरु वाट नै सफलताको गन्तव्य सरल र सहज हुन्छ, भ्रमको अन्त्य हुन्छ, आत्माविश्वासको विकास हुन्छ । यौटा सार्थक जीवनमा गुरूको सदैव महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।

-विनिता सिवाकोटी

प्रतिकृया