सूर्यविनायक नगर अस्पताल एक महिनाभित्र सञ्चालनमा आउने
प्रकाशित मिति
२०७८ माघ ११ गते, मंगलवार ०१:०२
११ माघ २०७८, काठमाडौं : कोरोना भाइरस संक्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै, अन्य नागरिकको उपचार गर्न २५ शैय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । उक्त अस्पताल १ महिनाभित्र सञ्चालनमा आउने सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले दाबी गरेका छन् ।

“हामी निर्वाचित भएर आएपछि चुनावमा गरेका सबै घोषणा पूरा गरेका छौँ, दुर्गम मानिएको गाउँ–गाउँमा सडक, खानेपानी, सामुदायिक भवन, विद्यालय भवन, स्वास्थ्यचौकी पुर्याउने काम सम्पन्न गरेका छौँ, अब आफ्नै नगर अस्पताल सञ्चालन गर्ने धोको पूरा भएको छ, अबको एक महिनाभित्र अस्पताल सञ्चालनमा ल्याउँछौँ, हाम्रा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर लागिरहेका छौँ, ” नगरप्रमुख थापाले भने।
अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले नगरपालिका अब अस्पताल सञ्चालनको तयारीमा लागेको सूर्यविनायक उनले बताए ।

नगरपालिकाले अस्पताल सञ्चालनसँगै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै चुस्त व्यवस्थापनका लागि केही महिना अगाडि मात्रै टेकु अस्पतालबाट अवकाशप्राप्त विशेषज्ञ डा. सागर राजभण्डारीलाई अस्पतालको निर्देशकका रूपमा नियुक्ति दिएर अस्पतालमा काम सुरु भएको उनले जानकारी दिए ।
सांसद महेश बस्नेतको सांसद विकास कोष, बस्नेतकै पहलमा केन्द्रीय सरकारबाट आएको ७५ लाख र बाँकी सूर्यविनायक नगरपालिकाको बजेट गरी करिब रु। ८ करोडको लागतमा अस्पताल सञ्चालनमा आउन लागेको हो । अस्पताललाई आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि बस्नेतले रु।एक करोड ५० लाखको बजेट व्यवस्था गरेका छन् ।
कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाले नागरिकलाई कोरोना संक्रमणमा शैय्या नपाएर भौंतारिन नपरोस् र उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याउन लागेको नगरपालिकाले नागरिकका लागि आफ्नै अस्पतालबाट स्वास्थ्य बिमा सेवासमेत दिने भएको छ ।



प्रतिकृया