• ३ साउन २०८३, आइतबार
  • ४:४६ बेलुका

कालिञ्चोकमा बाक्लो हिमपातका कारण हिउँ खेल्नेको भीड

प्रकाशित मिति

२०७८ पुष २६ गते, सोमबार ०८:३७

२६ पुस २०७८, काठमाडौँ : समुद्र सतहबाट ३ हजार ८ सय ४२ मिटरको उँचाइमा रहेको दोलखा कालिञ्चोकमा हिउँ खेल्नेको भीड लाग्न थालेको छ । धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक रुपमा पनि मनोरम यो ठाउँमा हिउँ खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो भीड लाग्ने गर्दछ । कालिञ्चोकमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ । सोही कारण कुरी बजारले पर्यटक धान्नै सकेको छैन । हिउँ खेल्न साथै अग्लो पहाडमा उभिएकी कालिञ्चोक भगवतीको दर्शन गर्न आउने पर्यटक बाक्लिएका छन् ।


हिउँ पर्नुभन्दा अघि यतिको सङ्ख्यामा पर्यटक आउने गरेका थिएनन् । आएका पर्यटकलाई सजिलैसँग सेवा दिन सकिन्थ्यो । अहिले पर्यटकको चाप बढेसँगै धेरै खट्नुपरेको स्थानीय होटल व्यवसायीले बताए । कालिञ्चोक भगवती मन्दिर परिसर साथै वरपरबाट आँखै अगाडि देखिने गौरीशङ्कर, दोर्जेलाक्पा, रोल्वालिङ, जुगल, लाङटाङ लगायतका हिमशृङ्खलाको कारण पनि कालिञ्चोकको सुन्दरतामा सुनमा सुगन्ध थपिदिएको छ । हिमालै हिमालको बीच र हिउँ नै हिउँको पहाडमा रहेकी कालिञ्चोक भगवतीको दर्शनमा भने युवाभन्दा बढी पाको उमेरका भक्तजन आउने गरेका छन् ।

Kamana Sewa

कालिञ्चोकमा भगवतीको दर्शन गर्न आउनेको सङ्ख्याभन्दा हिउँ खेल्न र रमाइलो गर्न आउने धेरै हुने गरेका छन् । त्यसमध्ये पनि जोडी सहित आउने युवायुवती बढी देखिन्छन् । कुरी बजार नपुग्दै हिउँ परेका पहाडमा सयौंको सङ्ख्यामा युवायुवती झुम्मिएको देख्न सकिन्छ । जेठ असारमा हरियालीको मनोरम दृश्य देखिने कालिञ्चोक हिउँदमा हिउँले ढपक्क ढाक्ने गरेको छ । अधिकांश युवा हिउँ खेल्नका लागि कालिञ्चोक आउने गरेको स्थानीय होटल व्यवसायी बताए ।

Classic Tech Desktop

कसरी पुग्ने कालिञ्चोक ?

काठमाडौंबाट करीब १३८ किलोमिटरको यात्रा पछि कालिञ्चोक कुरी बजार पुगिन्छ । सो यात्रा गर्न ५ देखि ६ घण्टासम्म लाग्ने गर्छ । भक्तपुर, काभ्रेको बनेपा, पाँचखाल, दोलालघाट, सिन्धुपाल्चोकको सुकुटे, खाडीचौर, मुडे र दोलखाको खरिढुङ्गा, चोथाङ देउराली हुँदै कालिञ्चोक पुगिन्छ । चरिकोटबाट १७ किलोमिटरको यात्रा पछि कालिञ्चोकको कुरी बजार पुग्न सकिन्छ ।


हिउँ परेको समयमा देउरालीसम्म मात्रै गाडी पुग्दछ । त्यसपछि पैदल वा त्यहाँको स्थानीयले सञ्चालन गरेको टायरमा चेन लगाएको बोलेरो जीपको सहायताले कुरी बजार पुग्न सकिन्छ । कुरीबाट केबुलकार मार्फत भगवतीको मन्दिरमा पुग्न सकिने व्यवस्था पनि छ । यसको लागि नेपालीले प्रतिटिकट रु ५०० तिर्नुपर्ने हुन्छ । विद्यार्थी र ज्येष्ठ नागरिकको लागि भने २५ प्रतिशत छूट छ । कुरीबाट कालिञ्चोक मन्दिरसम्म हिंडेर जानको लागि एक घण्टाभन्दा बढी समय लाग्दछ ।

प्रतिकृया